पर्सामा कारसहित एक सय ६० किलो गाँजा बरामद, चालक पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
633
Shares
काठमाडौँ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट १६० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। सोमबार मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकी स्वीफ्ट कारका चालक बुद्धिलाल घलानलाई सो परिमाणको गाँजासहित नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले पक्राउ परेका घलानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको जानकारी दिए।
गणपति क्षेत्रीका अनुसार कारको डिक्कीमा प्याकिङ गरेर राखिएको गाँजा बाहिर फ्याँक्ने प्रयास गर्दागर्दै घलान पक्राउ परेका हुन्। सशस्त्र प्रहरीले घलानको साथबाट २२ हजार ५०० रुपैयाँ नगद र एउटा 'रियलमी' कम्पनीको स्मार्टफोन समेत बरामद गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।