काठमाडौँ । सर्लाहीको सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात समूहको गोली प्रहारबाट एक सब-इन्जिनियरको बीभत्स हत्या भएको छ। पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय प्रमोदकुमार यादवको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीहरूले सेवा अवरुद्ध गर्दै आन्दोलनमा उत्रिएका छन्। जिल्ला अदालतको मूल ढोकामा धर्ना दिँदै उनीहरूले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न माग गरे।
सिरहाको सुखीपुर नगरपालिका–६ वैशाखा स्थायी घर भएका यादव आइतबार दिउँसो मात्रै बुबाको काजकिरिया सकेर मलङ्गवास्थित आफ्नो डेरामा फर्किएका थिए। घरबाट फर्किएलगत्तै मलङ्गवा नगरपालिका–१० मा उनीमाथि गोली प्रहार भएको सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए। घटनाको प्रकृति हेर्दा रिसइबी वा अन्य कुनै योजनाबद्ध कारण हुन सक्ने देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए।
मृतककी श्रीमती पुनम यादवका अनुसार मोटरसाइकलमा आएका व्यक्तिहरूले यादवलाई कोठाबाहिर बोलाएर गोली प्रहार गरेका थिए। उनको देब्रे छातीमा गोली लागेको थियो। घटनास्थलबाट प्रहरीले गोलीको एक थान खोका बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा हत्यामा पेस्तोल जस्तो सानो हतियार प्रयोग भएको पाइएको प्रहरी नायव उपरीक्षक सरोज राईले बताए।
गोली लागेर ढलेका यादवलाई आइतबार राति नै प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको थियो, तर चिकित्सकले अस्पताल पुर्याउनासाथ उनलाई मृत घोषणा गरे। यादव श्रीमती र दुई वर्षीया छोरीसँगै मलङ्गवामा डेरा गरी बस्दै आएका थिए। हालसम्म हत्याको स्पष्ट कारण खुल्न नसकेको र दोषीको खोजीका लागि जिल्लाभरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।