arrow

जेन-जी आन्दोलनदेखि कांग्रेस २.० सम्म

logo
ईश्वर पाण्डेय, 
प्रकाशित २०८२ फागुन २ शनिबार
ishor-panday-article-02-11.jpg.jpeg

भदौ २३–२४ गते नव युवाहरूको आयोजनामा भएको आन्दोलनले नेपाली राजनीतिमा निर्णायक मोड ल्यायो । बेरोजगारी, असमानता, कुशासन र पुरानो सत्ता प्रवृत्तिप्रति आक्रोशित युवाहरू सडकमा उत्रिएपछि करिब दुई तिहाइको सरकार ढल्यो र प्रधानमन्त्री केपी शर्मा ओली सत्ताच्युत हुन पुगे । बलियो जनमत हुँदाहुँदै पनि जनअपेक्षा सम्बोधन गर्न नसक्ने सत्ता अन्ततः टिक्न नसक्ने सन्देश यस आन्दोलनले स्पष्ट गरिदियो ।

यही राजनीतिक संक्रमणको समयमा नेपाली कांग्रेसको दोस्रो ऐतिहासिक विशेष महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले नेतृत्व मात्र चयन गरेन, पार्टीलाई आत्मसमीक्षा र पुनःसंरचनाको बाटोमा उभ्यायो । जेन-जी आन्दोलनले उठाएका सवाल, सुशासन, अवसर, पारदर्शिता र उत्तरदायित्व अब कांग्रेसको राजनीतिक एजेन्डाको केन्द्रमा आउन थालेका छन् ।

अब देश आगामी फागुन २१ गते हुने निर्वाचनतर्फ होमिएको छ। यो निर्वाचन केवल सत्ता परिवर्तनको अभ्यास होइन, पुरानो राजनीति र नयाँ सोच बीचको छनोट हो । यही सन्दर्भमा निर्वाचनबाट आएको नयाँ केन्द्रीय समिति सहित नेपाली कांग्रेसले आफूलाई “कांग्रेस २.०” का रूपमा प्रस्तुत गर्न खोजिरहेको देखिन्छ ।

कांग्रेस २.० को मूल सार भनेको पुरानो विरासतलाई जोगाउँदै नयाँ पुस्ताको सोच, आधुनिक कार्यशैली र परिणाममुखी राजनीतिलाई आत्मसात गर्नु हो। निर्णय प्रक्रियामा युवाको सहभागिता, डिजिटल र पारदर्शी संगठन, जनतासँग प्रत्यक्ष संवाद, र नारा होइन काममा आधारित राजनीति यसको मुख्य विशेषता बन्ने संकेत देखिएको छ । संघीय लोकतन्त्रलाई व्यवहारमा सफल बनाउने, आर्थिक अवसर सिर्जना गर्ने र संस्थागत सुशासन कायम गर्ने विषयमा कांग्रेसले अपडेटेड दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा बढेको छ।

समग्रमा नवयुवक आन्दोलनले ढालेको सरकार, कांग्रेसको महाधिवेशन र आगामी निर्वाचन यी सबै घटनाले नेपाली राजनीतिलाई नयाँ चरणतर्फ धकेलेका छन् । कांग्रेस २.० सफल हुन्छ कि हुँदैन भन्ने निर्णय फागुन २१ को निर्वाचनले गर्नेछ तर स्पष्ट छ अब जनताले पुरानो शैली होइन, नयाँ सोच र विश्वसनीय कार्यशैली खोजिरहेका छन् ।

२.०,  १.० को पुरानो सोचको अपडेटेड भर्सन मात्र होइन । पुरानो शैलीको राजनीतिबाट बाहिर निस्केर नयाँ सोच, नयाँ नेतृत्व, नयाँ कार्यशैली र परिणाममुखी अभ्यास तर्फको रूपान्तरण,पुरानो सोचको अपडेट हो । गुट र स्वार्थको अन्त्य पनि हो । नव युवाहरुको नेतृत्वमा गत भदौमा भएको आन्दोलन उठान यसै विषयको वरिपरिबाट भएको थियो । 

जस्तैः

कांग्रेस १.०

क. भाषण मुखी राजनीति
ख. व्यक्ति केन्द्रित नेतृत्व
ग. शक्ति र पदमा केन्द्रित
घ.भ्रष्टाचार, गुटबन्दी
ङ. नातावाद, कृपावाद
च. जनताको समस्या भन्दा सत्ता प्राथमिकता
छ. स्खलित आदर्श,  मूल्य मान्यता तथा सिद्धान्त 

कांग्रेस २.०

क. काम र परिणाम देखिने राजनीति
ख. प्रणाली र संस्थागत नेतृत्व
ग. सुशासन, पारदर्शिता र जवाफदेहिता
घ. प्रविधि प्रयोग (डिजिटल गभर्नेन्स)
ङ. युवाको सक्रिय भूमिका
च. जनताको जीवनस्तर सुधार मुख्य लक्ष्य 
छ. क्षमता अनुसारको जिम्मेवारी ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ