arrow

आलोपालो प्रधानमन्त्रीको प्रथा अन्त्य गरौँ : विश्वप्रकाश शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
bishwaprakash-ss.jpg

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अबदेखि आलोपालो प्रधानमन्त्री बन्ने प्रथा पूर्ण रूपमा अन्त्य गर्न आग्रह गरेका छन्। बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको विकास र राजनीतिक स्थायित्वका लागि यो विकृत प्रथा रोक्नुपर्नेमा जोड दिएका हुन्। 

शर्माले आगामी सरकारको नेतृत्वका लागि कांग्रेसले गगनकुमार थापालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको जानकारी दिँदै अबको निर्वाचनपछि एउटै व्यक्तिले पाँच वर्ष सरकार चलाउने वातावरण बन्नुपर्ने बताए। मुलुकको विषम परिस्थितिलाई सम्हाल्न कांग्रेसले यस्तो साहसिक निर्णय लिएको उनको दाबी छ।

शर्माले राजनीतिक स्थिरताका लागि ‘विनर्स टेक अल’ (विजेताले सबै पाउने) को नयाँ संवैधानिक सिद्धान्त प्रस्ताव गरेका छन्। उनको तर्क अनुसार चुनावमा सबैभन्दा ठूलो दल हुने पार्टीले नै पूर्ण पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ। यदि संसद्मा १ सय ३८ को बहुमत नपुगेमा समानुपातिक हिस्साबाट आवश्यक सिट सङ्ख्या थप गरेर भए पनि ठूलो दललाई नै बहुमत पुर्‍याइदिने कानुनी र संवैधानिक व्यवस्था गर्नुपर्ने उनले बताए। 

"अब 'हङ पार्लियामेन्ट' बनाएर देशलाई अस्थिरतातिर नधकेलौँ, एउटा बलियो प्रधानमन्त्रीलाई पाँच वर्ष काम गर्न दिउँ र नपुगेको सङ्ख्या संसद्बाटै ठूलो दललाई दिने पद्धति बसालौँ," उनले भने।

रुपन्देहीका पाँचै क्षेत्रमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्दै शर्माले कार्यकर्ताहरूलाई सानातिना मतभेद बिर्सेर रुख चिन्हमा गोलबद्ध हुन आग्रह गरे। निर्वाचनको दिन पूरै रुपन्देही 'रुखमय' हुनुपर्ने भन्दै उनले राष्ट्रिय संवाद र गोलमेच सम्मेलनमार्फत यस्ता चुनावी सुधारका प्रस्तावहरू पास गर्नुपर्नेमा जोड दिए। 

उनले अगाडि भने, "प्रश्न व्यक्तिलाई जिताउने मात्र होइन, प्रश्न त अप्ठ्यारोमा परेको देशलाई जोगाउने हो। त्यसैले नयाँ ऊर्जाका साथ रुख चिन्हभन्दा अर्को कुरामा नअल्मलिई लाग्न म सबैलाई आह्वान गर्छु।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ