arrow

नेपाल–भारत सीमामा संयुक्त गस्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
nepal-india-army.jpg

काठमाडौँ । सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती गरेका छन्। शनिबार दिउँसो करिब १२ बजेदेखि सुरु भएको यो गस्तीमा नेपाल र भारतका सुरक्षा टोलीको सहभागिता रहेको थियो

। इलाका प्रहरी कार्यालय संग्रामपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुशील रावलको नेतृत्वमा ४ जना, बीओपी संग्रामपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक प्रदीप पनेरुको कमाण्डमा ७ जना र भारतीय सशस्त्र सीमा बल (एसएसबी) ५१ बटालियनका इन्स्पेक्टर राहुल सिंह ढाकाको नेतृत्वमा ५ जना गरी संयुक्त टोलीले गस्ती गरेको हो। यो संयुक्त टोलीले सीमा क्षेत्रको सुरक्षा अवस्था र आवतजावतलाई व्यवस्थित बनाउन स्थलगत अनुगमन गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सुरक्षा टोलीले नेपाल–भारत सीमामा पर्ने पिलर नं. ३१७/३ देखि पिलर नं. ३१८/२३ सम्मको क्षेत्रमा गस्ती गरेको थियो। गस्तीका क्रममा सीमा सुरक्षाको अवस्था, सर्वसाधारणको आवतजावत र सीमा क्षेत्रमा हुन सक्ने सम्भावित अवैध गतिविधिहरूको सूक्ष्म अनुगमन गरिएको छ। सीमा क्षेत्रमा हुनसक्ने तस्करी, लागुऔषध ओसारपसार र अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मीले आपसी समन्वयमा काम गरिरहेका छन्।

सीमा क्षेत्रमा शान्ति, सुरक्षा कायम राख्न र दुई देशका सुरक्षा निकायबीच आपसी समन्वय अभिवृद्धि गर्ने उद्देश्यले यस्ता संयुक्त गस्तीहरू नियमित रूपमा सञ्चालन गरिँदै आएको छ। यस्तो सहकार्यले सीमावर्ती क्षेत्रका बासिन्दामा सुरक्षाको अनुभूति गराउनुका साथै सीमा सुरक्षालाई थप मजबुत बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। आगामी दिनमा पनि यस्ता सुरक्षा रणनीतिका साथ गस्तीलाई निरन्तरता दिने सुरक्षा निकायको योजना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ