परमाणु सन्धि सकिएकै दिन अमेरिका र रूस सैन्य वार्ता गर्न सहमत
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
2.1k
Shares
काठमाडौँ । संयुक्त राज्य अमेरिका र रूस उच्चस्तरीय सैन्यतहको वार्ता पुनः सुरु गर्न सहमत भएका छन्। अमेरिकी रक्षा मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार दुई देशबीचको आणविक हतियार नियन्त्रण सम्बन्धी सन्धिको अवधि समाप्त भएको केही घण्टाभित्रै नयाँ वार्ता सुरु गर्ने सहमति जुटेको हो।
सन्धि सकिएसँगै मस्को र वासिङ्टन दुवै औपचारिक रूपमा प्रतिबन्धबाट मुक्त भएका छन्, जसको अर्थ अब उनीहरूले प्रयोग गर्न सक्ने आणविक हतियारको सङ्ख्यामा कुनै सीमा रहने छैन। अमेरिकी सेनाको युरोपियन कमान्डले एक विज्ञप्ति जारी गर्दै सेनाहरूबीचको संवाद विश्वव्यापी स्थिरता र शान्तिका लागि महत्वपूर्ण हुने बताएको छ। उसले पारदर्शिता कायम राख्न र तनाव कम गर्न यो वार्ताले पुलको काम गर्ने विश्वास व्यक्त गरेको छ।
सन् २०२१ देखि स्थगित भएको यो सैन्य वार्ता पुनः सुरु गर्ने वातावरण अबु धाबीमा भएको युक्रेन शान्ति वार्ता पछि बनेको हो। उक्त वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ जारेड कुश्नरको उपस्थितिमा 'फलदायी र रचनात्मक प्रगति' भएपछि दुवै देश सैन्य संवादका लागि तयार भएका हुन्। यद्यपि, वर्षौँदेखि कायम रहेको आणविक हतियार सन्धिको अन्त्यले विश्वका शीर्ष शक्ति राष्ट्रहरूबीच हतियारको नयाँ होडबाजी सुरु हुने खतरा बढेको छ। अभियानकर्ताहरूले यसले चीनलाई समेत आफ्नो शस्त्रागार विस्तार गर्न प्रोत्साहन मिल्ने भन्दै चिन्ता र चेतावनी दिएका छन्।
यसैबीच, नेटोले विश्वको बदलिँदो र जटिल परिस्थितिमा सबै जिम्मेवार मुलुकहरूलाई 'जिम्मेवारी र संयम' अपनाउन आग्रह गरेको छ। सन्धि विहीन अवस्थामा आणविक हतियारको सुरक्षा र नियन्त्रण चुनौतीपूर्ण हुने भएकाले शक्ति राष्ट्रहरूले विवेकपूर्ण निर्णय लिनुपर्नेमा अन्तर्राष्ट्रिय समुदायले जोड दिएको छ। अमेरिका र रूसबीचको यो नयाँ सैन्य संवादले तत्कालको तनाव कम गर्न मद्दत पुर्याए पनि दीर्घकालीन आणविक सुरक्षाका लागि नयाँ सन्धिको आवश्यकता टड्कारो देखिएको छ।