अबुधाबी वार्ता: कैदी साटासाटमा सहमति भए पनि भौगोलिक विवाद कायमै
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
2.1k
Shares
काठमाडौँ । रूस र युक्रेनबीच अबुधाबीमा भएको वार्ताका क्रममा भौगोलिक समस्याका विषयमा तत्काल कुनै प्रगतिको सङ्केत नदेखिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। वार्तामा दुवै पक्ष ३०० भन्दा बढी कैदीबन्दी आदानप्रदान गर्न सहमत भए पनि युद्ध अन्त्यको मुख्य बिन्दु मानिएको जमिनको विषयमा भने कुरा मिल्न सकेको छैन।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरू छिटो परिणामको पक्षमा रहेको र युक्रेन सकेसम्म रचनात्मक बनेको उल्लेख गरे। अमेरिकी मध्यस्थकर्ता स्टिभ विटकोफले पनि युद्ध समाप्त गर्न व्यापक सम्झौताको खोजीका लागि अझै धेरै महत्वपूर्ण काम बाँकी रहेको र सफलताको आशा अझै धमिलो नै रहेको जानकारी दिएका छन्। दोस्रो विश्वयुद्धपछिको यो घातक युद्ध रोक्ने कूटनीतिक प्रयास भइरहँदा पनि रूसले युक्रेनको ऊर्जा संरचनामा आक्रमण गर्न छोडेको छैन, जसका कारण राजधानी किएभको ठुलो भाग शून्यभन्दा कम तापक्रममा पनि बिजुलीविहीन अवस्थामा छ। किएभका मेयर भिटाली क्लिट्स्कोले रुसी हमलामा पावर स्टेसन ध्वस्त भएकाले हजारौँ अपार्टमेन्टमा दुई महिनासम्म विद्युत् आपूर्ति कठिन हुने चेतावनी दिएका छन्।
वार्ताको मुख्य अड्चन पूर्वी युक्रेनको रूसले कब्जा गरेको जमिनको दीर्घकालीन भविष्यलाई लिएर देखिएको छ। मस्कोले कुनै पनि सम्झौता हुनुअघि युक्रेनी सेनाले डोनबासको ठुलो क्षेत्र छाड्नुपर्ने र कब्जा गरिएको जमिनलाई रूसी भूमिको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने माग गरिरहेको छ। यता किएभले भने अहिलेकै अग्रपङ्क्तिबाट द्वन्द्व रोक्नुपर्ने अडान राख्दै आफ्नो सेना फिर्ता गर्न अस्वीकार गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएदेखि नै दुवै पक्षलाई वार्ताका लागि दबाब दिइरहेका छन्। जेलेन्स्कीले पनि रूसी राष्ट्रपति पुटिन ट्रम्पसँग मात्र डराउने गरेको टिप्पणी गर्दै रूसलाई दबाब दिन अमेरिकाको भूमिका निर्णायक हुने बताएका छन्। युक्रेनले आफ्नो २० प्रतिशत भूभाग रूसले ओगटेको र जमिन छोड्दा मस्कोको मनोबल बढ्ने भन्दै यस्तो सम्झौताले रूसलाई पुनः आक्रमण गर्नबाट नरोक्ने चेतावनी दिएको छ।
युद्धको मैदानमा भएको क्षतिको विषयमा जेलेन्स्कीले सन् २०२२ देखि अहिलेसम्म कम्तीमा ५५ हजार युक्रेनी सैनिक मारिएको स्वीकार गरेका छन्, यद्यपि यो सङ्ख्या स्वतन्त्र अनुमानभन्दा निकै कम मानिएको छ। रूसले आफ्ना सैनिकको क्षतिको विवरण गोप्य राखे पनि बीबीसी र मिडियाजोनाले गरेको अध्ययनले १ लाख ६० हजारभन्दा बढी रूसी सैनिकको मृत्यु भइसकेको दाबी गरेको छ।
रूसले डोनेट्स्क, लुगान्स्क, खेरसोन र जापोरिज्जिया क्षेत्रलाई आफ्नो दाबी गरे पनि डोनेट्स्कको केही भाग अझै युक्रेनकै नियन्त्रणमा छ। युक्रेनले रूसलाई फेरि आक्रमण गर्न बल पुग्ने गरी कुनै पनि कमजोर सम्झौतामा हस्ताक्षर नगर्ने स्पष्ट पारेको छ। अबुधाबीको यो वार्ताले मानवीय सहायता र कैदी साटासाटमा केही राहत दिए पनि ठोस शान्ति सम्झौताका लागि अझै लामो र कठिन बाटो बाँकी रहेको देखिन्छ।