arrow

निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
omprakash-aryal-24-09.jpg

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतको भन्दा थप सुदृढ सुरक्षा व्यवस्था मिलाइएको बताएका छन्। बिहीबार मतपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्रको अनुगमन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचन क्षेत्रहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरिएको जानकारी दिए। 

अति संवेदनशील र संवेदनशील मानिएका क्षेत्रहरूमा पूर्वतयारीसहित विशेष सुरक्षा प्रबन्ध लागू गरिने उनले बताए। मुलुकमा राजनीतिक हिंसा र द्वन्द्व बिस्तारै कम हुँदै गएकाले चुनावी वातावरण बन्दै गएको उल्लेख गर्दै उनले तोकिएकै मितिमा निर्वाचन हुनेमा सबैलाई ढुक्क हुन आग्रह समेत गरे।

उनले विगतका कठिन समयहरू, विशेष गरी भदौ २३ र २४ गते मानवता र मुलुक गम्भीर सङ्कटमा पुगेको क्षणलाई स्मरण गर्दै वर्तमान सरकार नागरिकको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको बताए। देश र नागरिकलाई कुनै पनि हालतमा असुरक्षित हुन नदिने सङ्कल्पका साथ सरकार अघि बढेको उनको भनाइ छ। 

प्रधानमन्त्रीले चुनावका क्रममा एक थोपा पनि रगत बग्न नदिने भनी गरेको प्रतिबद्धतालाई नै मूलमन्त्र बनाएर गृह मन्त्रालयले सुरक्षा योजना तयार पारेको उनले स्पष्ट पारे। कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको र जनताले निर्धक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित गरिने उनले दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ