जापानमा हिउँको कहर: ३५ जनाले ज्यान गुमाए, चार मिटरभन्दा बढी हिउँले घरहरू पुरिए
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
2k
Shares
काठमाडौँ । जापानमा गत जनवरी २० देखि सुरु भएको भीषण हिमपातका कारण जनजीवन निकै कष्टकर बनेको छ। देशको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले बुधबार सार्वजनिक गरेको जानकारी अनुसार हिउँका कारण अहिलेसम्म देशभर ३५ जनाको मृत्यु भइसकेको छ भने ३५८ जना घाइते भएका छन्।
विशेष गरी निगाता, अकिता, यामागाता, होक्काइदो र आओमोरी जस्ता प्रान्तहरूमा ठुलो मानवीय क्षति भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्। निगाता प्रान्तमा मात्रै बुधबारसम्म १२ जनाले ज्यान गुमाएका छन्। सरकारी अधिकारीहरूका अनुसार धेरैजसो मृत्यु हिउँ हटाउने क्रममा भएको देखिएको छ भने चिसोका कारण अचानक बिरामी परेर अस्पताल भर्ना हुनेहरूको संख्या पनि उत्तिकै छ।
जापानको मौसम विज्ञान निकायले उत्तरी र पश्चिमी जापानको समुद्री तटीय क्षेत्रमा हिउँदे चिसोको चापका कारण भारी हिमपात भइरहेको बताएको छ। सार्वजनिक प्रसारक एनएचकेका अनुसार आओमोरी प्रान्तका केही भागमा हिउँ ४.३ मिटरभन्दा बढी जमेको छ भने निगाताका कतिपय क्षेत्रमा करिब तीन मिटर हिउँ थुप्रिएको छ।
खराब मौसमले केवल मानिसलाई मात्र होइन, १४ वटा आवासीय भवनहरूमा पनि ठुलो क्षति पुर्याएको छ। सडक र रेल यातायात अवरुद्ध हुँदा मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जान निकै सकस भइरहेको छ।
अहिले जापानका अधिकांश क्षेत्रमा तापक्रम बिस्तारै बढ्न थालेको छ, जसले गर्दा अर्को जोखिम निम्तिन सक्ने भन्दै अधिकारीहरूले चेतावनी दिएका छन्। तापक्रम बढ्दा जमेको हिउँ पग्लिएर हिमपहिरो जाने, घरको छतबाट हिउँ खस्ने र यातायातमा समस्या आउने सम्भावना रहन्छ। त्यसैले स्थानीय प्रशासनले बासिन्दाहरूलाई सडकमा यात्रा गर्दा र हिउँ सफा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। चिसो हावा र हिमपातको यो सिलसिलाले जापानको जनजीवनलाई अझै केही समयसम्म प्रभाव पारिरहने देखिएको छ।