arrow

सुदूरपश्चिमका चार जिल्ला अति संवेदनशील, २१ हजारभन्दा बढी प्रहरी खटाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, दार्चुला र बझाङ जिल्ला सुरक्षाका दृष्टिले संवेदनशील देखिएका छन्।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक पदमबहादुर विष्टले विगतका निर्वाचनका घटनाहरूको विश्लेषण गर्दै यी चार जिल्लालाई विशेष निगरानीमा राखेर सुरक्षा व्यवस्था मिलाउन लागिएको जानकारी दिए। उनका अनुसार निर्वाचन बिथोल्न सक्ने तत्वहरूलाई नियन्त्रणमा लिन र शान्तिपूर्ण वातावरण बनाउन प्रहरीले आवश्यक तयारी गरिरहेको छ। भौगोलिक विकटता र हिउँदे मौसमका कारण हिमाली क्षेत्रका मतदानस्थलबाट मतपेटिका ढुवानी गर्न हेलिकप्टरको व्यवस्थापन समेत गरिँदैछ।

जाडोयाममा दार्चुला र बाजुराका कतिपय परिवार सदरमुकाम वा अन्य जिल्लातर्फ बसाइँ सर्ने भएकाले उनीहरूलाई मतदानको व्यवस्था मिलाउनु प्रहरी र प्रशासनका लागि मुख्य चुनौती बनेको छ। दार्चुलाको उत्तरी क्षेत्रका बासिन्दा हिउँदमा सदरमुकाम नजिक बस्ने भएकाले उनीहरूका लागि त्यहीँ मतदान गर्ने विकल्पबारे छलफल भइरहेको विष्टले बताए। 

निर्वाचन सुरक्षालाई मजबुत बनाउन प्रदेशभर ७ हजार ३७४ नेपाल प्रहरी र १३ हजार ६६९ म्यादी प्रहरी परिचालन गर्न लागिएको छ। यसका साथै सशस्त्र प्रहरी र नेपाली सेनाले पनि आफ्नै सुरक्षा योजनाअनुसार काम गर्नेछन्। प्रदेशका कुल १ हजार १७८ मतदानस्थलमध्ये ४८१ लाई 'अतिसंवेदनशील' सूचीमा राखेर विशेष टोली खटाइने तयारी छ।

सुदूरपश्चिमका नौ जिल्लाका १६ निर्वाचन क्षेत्रमा यसपालि १७ लाख १६ हजार ६६० मतदाताले मतदान गर्दैछन्। तथ्याङ्कअनुसार कैलालीमा सबैभन्दा बढी ५ लाख ५१ हजार ५२ र बाजुरामा सबैभन्दा कम ८७ हजार ८६१ मतदाता रहेका छन्। निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार तीन वर्षअघिको निर्वाचनमा नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी, एमाले र एकीकृत समाजवादीले विभिन्न क्षेत्रमा जित हासिल गरेका थिए। जेन्जी आन्दोलनपछिको बदलिएको राजनीतिक परिवेशमा हुन लागेको यो निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सुरक्षा निकायले सवारीसाधन र जनशक्तिको उच्चतम प्रयोग गर्ने योजना बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ