arrow

पार्टीलाई नसोधी राजनीतिक नियुक्तिपछि संसदीय दलका नेताविरुद्ध खनिए एमालेकै कार्यकर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
rajendra-singh-rawal.jpg

काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलको कार्यकक्षमा आइतबार राष्ट्रिय युवा संघ नेपालले तालाबन्दी गरेको छ। 

सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न अस्पताल व्यवस्थापन समितिमा गरेको राजनीतिक नियुक्तिमा रावलले पार्टीसँग आवश्यक परामर्श नगरेको भन्दै युवा संघले ताला लगाएको हो।

राष्ट्रिय युवा संघ कञ्चनपुरको कृष्णपुर नगर कमिटीले आइतबार दिउँसो धनगढीस्थित संसदीय दलको कार्यालय पुगेर तालाबन्दी गरेको हो। युवा संघले संसदीय दलका नेता रावललाई तत्काल सम्पर्कमा आउन र यसबारे स्पष्टीकरण दिन समेत आग्रह गरेको छ।

अस्पताल व्यवस्थापन समितिहरूमा गरिने राजनीतिक नियुक्तिका विषयमा संसदीय दल र प्रदेश सरकारले पार्टीको प्रदेश कमिटीसँग कुनै समन्वय नगरेको भन्दै विवाद चुलिएको छ। पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले यस विषयमा आफ्नो असन्तुष्टि पार्टी केन्द्र (केन्द्रीय सचिवालय) सम्म पुर्‍याइसकेको स्रोतले बताएको छ।

एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले पनि राजनीतिक नियुक्तिका सम्बन्धमा पार्टीसँग परामर्श नभएको स्वीकार गरेका छन्। उनले यो गम्भीर विषय भएको र यसबारे पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको बताए।

प्रदेश सरकारमा एमाले सहभागी भए पनि नियुक्तिका सवालमा संसदीय दल र संगठनबीच समन्वय अभाव हुँदा पार्टीभित्रैबाट विरोध सुरु भएको हो। रावलले यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ