काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ स्थित झीँ गाउँको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरी चौकीबाट खटिएको टोलीले सोमबार जङ्गलबाट ती हतियार बरामद गरेको हो।
प्रहरीका अनुसार जङ्गलमा लुकाएर राखिएका यी बन्दुकहरू रातको समयमा चोरीसिकारीमा प्रयोग हुने गरेको अनुमान छ। बन्दुक बरामद गरेपछि प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयले अवैध हतियार खोजतलास अभियान सञ्चालन गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले निर्वाचनलाई प्रभावित पार्न सक्ने जोखिमलाई ध्यानमा राखेर यो अभियान चलाइएको बताए। मङ्सिर १५ गतेदेखि ‘ब्राभो शेरा’ नाम दिएर सुरु गरिएको यस 'अप्रेशन' अन्तर्गत जिल्लाभरका प्रहरी युनिटहरू परिचालन गरिएको उनको भनाइ छ। निर्वाचनका बेला लुकाइराखेका हतियार दुरुपयोग हुन सक्ने भन्दै विभागको परिपत्रअनुसार खोजतलास तीव्र पारिएको हो।
यस अभियानका क्रममा म्याग्दीका विभिन्न पालिकाबाट हालसम्म ११५ थान अवैध भरुवा बन्दुक बरामद भइसकेका छन्। थापाका अनुसार बेनी नगरपालिकाबाट ११, अन्नपूर्णबाट १६, रघुगङ्गाबाट ४८, मङ्गलाबाट १४, मालिकाबाट २० र धवलागिरि गाउँपालिकाबाट ६ थान बन्दुक सङ्कलन गरिएको छ। जङ्गल र गाउँका विभिन्न ठाउँमा लुकाएर राखिएका हतियारहरू फेला पार्ने क्रम अझै जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक थापाले कसैसँग इजाजत प्राप्त नगरेका अवैध बन्दुक भएमा स्वतःस्फूर्त रूपमा प्रहरीलाई बुझाउन वा खबर गर्न सबैलाई अनुरोध गरेका छन्। उनले अवैध हतियारसहित कोही फेला परेमा कानुनअनुसार पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था रहेको भन्दै सचेत गराएका छन्। निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रहरीले सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ।