arrow

वित्तीय सेवामा नेपालीको पहुँच बढ्दै: सूचकाङ्कमा उल्लेखनीय सुधार

राष्ट्र बैङ्कको रिपोर्ट भन्छ: "वित्तीय पहुँचमा नेपालको ठूलो फड्को"

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १८ आइतबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ। नेपालमा वित्तीय सेवाको पहुँच, प्रयोग र गुणस्तरमा उत्साहजनक सुधार देखिएको छ। नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकाङ्कअनुसार आर्थिक वर्ष २०२४/२५ मा समग्र सूचकाङ्क शून्य दशमलव ४७ बाट बढेर शून्य दशमलव ५३ पुगेको छ। 

राष्ट्र बैङ्कको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले प्रकाशन गरेको प्रतिवेदनले सेवा विस्तार र डिजिटल माध्यमको बढ्दो प्रयोगका कारण यो प्रगति सम्भव भएको देखाएको हो। बैङ्कका अनुसार वित्तीय सेवामा भएको पहुँच विस्तार र सेवाको गुणस्तरमा आएको सुधारले समावेशीकरणमा स्थिर र व्यापक प्रगति भएको देखिन्छ।

मानव विकास सूचकाङ्ककै विधि अपनाएर शून्यदेखि एकको मापनमा आधारित भई यो रिपोर्ट तयार पारिएको हो। यसमा पहुँच, प्रयोग र गुणस्तर गरी तीनवटा आयामअन्तर्गत ५५ वटा विभिन्न सूचकहरूलाई आधार मानिएको छ। 

प्रतिवेदनअनुसार पहुँच सूचकाङ्क शून्य दशमलव ५३ पुगेको छ, जसले देशभर वित्तीय संस्था र डिजिटल सेवाका केन्द्रहरूको सञ्जाल विस्तार भएको पुष्टि गर्छ। त्यस्तै, बैङ्किङ र डिजिटल भुक्तानी जस्ता सेवामा सर्वसाधारणको संलग्नता बढ्दा प्रयोग सूचकाङ्क शून्य दशमलव ५४ पुगेको छ भने सेवाको पारदर्शिता र ग्राहक अनुभवमा आएको सुधारले गुणस्तर सूचकाङ्क शून्य दशमलव ५० मा पुगेको छ।

केन्द्रीय बैङ्कले वित्तीय साक्षरतामा भएको वृद्धि र उपभोक्ता संरक्षण संयन्त्रको सुदृढीकरणले यो सफलता मिलेको उल्लेख गरेको छ। नीतिगत पहल, डिजिटल नवप्रवर्तन र नियामक सुधारले सकारात्मक प्रभाव पारेको भन्दै राष्ट्र बैङ्कले आगामी दिनमा डिजिटल पूर्वाधारलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएको छ। 

वित्तीय साक्षरताको प्रवद्र्धन र उपभोक्ता केन्द्रित सेवालाई निरन्तरता दिन सकेमा मात्र यो प्रगतिले दिगो रूप पाउने बैङ्कको ठहर छ। यस प्रतिवेदनले नेपाली अर्थतन्त्रमा डिजिटल बैङ्किङको भविष्य उज्ज्वल रहेको सङ्केत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ