चुनावी प्रचारमा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह: निष्पक्षतामा असर पर्ने चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १८ आइतबार
798
Shares
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ।
महामन्त्री मीनबहादुर मल्लले आइतबार जारी गरेको विज्ञप्तिमा रेडक्रसको चिह्न जेनेभा महासन्धिअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले यसलाई राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको उल्लेख छ।
कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारमा रेडक्रसको चिह्न, नाम, पोसाक वा पहिचान प्रयोग गर्दा यसले रेडक्रस अभियानको निष्पक्षता, तटस्थता र विश्वसनीयतामा गम्भीर असर पार्ने कुरा विज्ञप्तिमा स्पष्ट पारिएको छ।
रेडक्रसले आफ्ना स्वयंसेवक तथा कर्मचारीहरूलाई पनि कुनै पनि चुनावी प्रचारप्रसारमा संस्थाको चिह्न अङ्कित सामग्री प्रयोग गरेर संलग्न नहुन निर्देशन दिएको छ। यदि कुनै रेडक्रस पदाधिकारी आफैँ निर्वाचनमा उम्मेदवार बनेको भए उनले रेडक्रसबाट अलग भएको घोषणा गर्नुपर्ने संस्थाको भनाइ छ। मानवीय सेवाको क्षेत्रमा काम गर्ने संस्था भएकाले यसलाई कुनै पनि राजनीतिक विवाद वा प्रतिष्पर्धामा तान्न नहुनेमा रेडक्रसले जोड दिएको छ।
यसैगरी, रेडक्रसले आफ्ना पदाधिकारी तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समर्थन नगर्न र सामाजिक सञ्जाल वा सार्वजनिक कार्यक्रममार्फत संस्थालाई राजनीतिक रूपमा नजोड्न अनुरोध गरेको छ। रेडक्रसको सम्पत्ति, कार्यालय वा कुनै पनि भौतिक पूर्वाधार राजनीतिक दलको प्रचारप्रसारका लागि उपलब्ध नगराउन समेत कडा निर्देशन दिइएको छ। रेडक्रसले निर्वाचनका बेला आफ्नो मानवीय पहिचानलाई जोगाइराख्न सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ।