arrow

निर्वाचनमा भयरहित वातावरण सुनिश्चित गरौँ : उपराष्ट्रपति 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
ramsaya-yadhav.jpg

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने कुराको सुनिश्चितता गर्नुपर्ने बताएका छन्। 

शनिबार सिंहदरबारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार नै स्वच्छ निर्वाचन भएको उल्लेख गरे। यस प्रक्रियालाई सफल बनाउन सञ्चारमाध्यमहरूको भूमिका निकै महत्त्वपूर्ण हुने उनको भनाइ छ। यादवले निर्वाचनसम्बन्धी सही सूचना प्रवाह गर्ने, मतदाताको सचेतना बढाउने र शान्तिपूर्ण वातावरण निर्माणमा योगदान दिन सञ्चार जगत्लाई आग्रह गरेका छन्।

पत्रकारितालाई लोकतन्त्रको बलियो आधारस्तम्भका रूपमा व्याख्या गर्दै उपराष्ट्रपति यादवले समावेशिता, समान अवसर र सबै नागरिकको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्न सुझाव दिए। 

उनले सत्य, निष्पक्षता र जनमुखी दृष्टिकोणलाई आत्मसात् गर्दै राष्ट्र निर्माणमा लाग्न सञ्चारकर्मीहरूलाई आह्वान गरे। सञ्चारमाध्यमहरूले कुनै पनि पक्षपात नगरी जनतालाई सुसूचित गराएमा मात्रै लोकतन्त्र बलियो हुने उनले बताए।

आजको समयमा डिजिटल माध्यममार्फत जनतासामु पुग्नु अनिवार्य आवश्यकता रहेको औँल्याउँदै यादवले प्रविधिको सही प्रयोगमा जोड दिए। राष्ट्रको आवाजलाई सशक्त बनाउनु नै सञ्चारमाध्यमहरूको प्रमुख दायित्व भएको भन्दै उनले निर्वाचनका बेला फैलिन सक्ने गलत सूचनाप्रति सचेत रहन समेत आग्रह गरे। निर्वाचनलाई उत्सवका रूपमा मनाउन र जनताको मतको सम्मान हुने वातावरण बनाउन सबै निकायको सहकार्य आवश्यक रहेको उनको निष्कर्ष छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ