विराटनगर । नेपाली कांग्रेसका उम्मेदवार डा सुनील शर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि घरदैलो अभियानमा सक्रिय भएका छन् ।
मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका उनले चुनावी प्रचार–प्रसारलाई तिब्र बनाउँदै घरदैलो अभियान शुरु गरेका हुन् । यो क्षेत्रबाट २०७९ को आम निर्वाचनमा पनि डा शर्मा विजयी भएका थिए ।
जसमा उनले एमालेका भानुभक्त ढकाललाई ठूलो मतान्तरले पराजित गरेका थिए । स्थानीय मतदाताहरूले उनलाई स्वास्थ्य र विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने नेता मान्छन् ।
उनले विपन्न तथा निम्न वर्गका बिरामीहरूलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको स्थानीयहरुको भनाइ छ ।
चुनावी अभियानका क्रममा डा शर्माले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सर्वसुलभ स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, स्थानीय विकास, रोजगारी सिर्जना र विपन्न वर्गको उत्थानलाई मुख्य एजेण्डा बनाएका छन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारहरूलाई निरन्तर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता दोहोर्याएका छन्् । उनले क्षेत्रमा अस्पताल, स्कूल, सडक, पुल तथा अन्य पूर्वाधार विकासमा थप लगानी गर्ने प्रतिबद्धता पनि गरेका छन् ।
घरदैलो अभियानमा सहभागी मतदाताहरूले डा शर्मालाई जिताएर पठाउने बताउँदै आएका छन् । डा शर्माले मतदातासँगको भेटमा कांग्रेसको बदलिएको छवि र सुशासनको पक्षमा पनि जोड दिएका छन् ।
उनले ७० हजारभन्दा बढी मत प्राप्त गरेर बलियो जनादेशसहित जित्ने लक्ष्य राखेका छन् जसले संसदमा आफ्नो आवाजलाई थप प्रभावकारी बनाउने उनको विश्वास छ ।