मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय समूहले, यसरी बनाउँथ्यो सर्वसाधारणलाई निशाना
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
1k
Shares
काठमाडौँ । काठमाडौँमा पछिल्लो तीन महिनादेखि दैनिक दर्जनौँ लुटपाटका उजुरी पर्न थालेपछि प्रहरीले चलाएको ‘अपरेसन स्न्याचिङ’ ले ठूलो सफलता हात पारेको छ। काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लुटपाट मच्चाउने गिरोहका १० जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार सार्वजनिक गरेको छ।
गएराति मूलपानी क्षेत्रमा प्रहरीको 'चेकप्वाइन्ट' मा रोकिनुको साटो प्रहरीमाथि नै जाइलागेपछि गोली प्रहार गरी यो समूहलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा गिरोहका नाइके २३ वर्षीय विनय तामाङसहित सलोन तामाङ, राजीव भण्डारी, पेमा तामाङ, आयन माझी, सविन माझी, मनिस रसाइली, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन्।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार यो समूह 'जेन–जी' आन्दोलनपछि सक्रिय भएको थियो। उनीहरूको काम गर्ने शैली निकै संगठित देखिन्छ। गिरोहका सदस्यहरू दिउँसो ट्याक्सी चलाउने र 'रेकी' (निगरानी) गर्ने गर्थे। राति ९ बजेतिर एकै ठाउँमा भेला भएर खाना खाने र मध्यरात १२ देखि बिहान ४ बजेसम्म लुटपाट मच्चाउने उनीहरूको दैनिकी थियो।
लुटपाटका लागि उनीहरू मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापेर पहिचान लुकाउँथे र तीन–तीन जनाको समूहमा हिँड्थे। सर्वसाधारणलाई कुटपिट गरी सुनका गहना र नगद लुटेपछि उनीहरू पुनः ट्याक्सी वा निजी कारमा चढेर नियमित काममा फर्कने गर्थे।
गिरोहका नाइके विनय तामाङ यसअघि भदौ २४ गते महाराजगन्ज वृत्तको हिरासतबाट भागेका अभियुक्त हुन्। उनले हिरासतबाट भागेपछि यो नयाँ समूह बनाएर सक्रिय पारेका थिए। यो गिरोहले स्वयम्भूमा ७, ठिमीमा १३ र अन्य क्षेत्रमा दर्जनौँ लुटपाट गरेका छन्। प्रहरीले उनीहरूको साथबाट एउटा कार, एउटा ट्याक्सी र ६ वटा मोटरसाइकल समेत बरामद गरेको छ।