प्रहरीसँगको मुठभेडपछि लुटेरा समूहका नाइके पक्राउ, २७ वटा लुटपाटको खुल्यो रहस्य
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
886
Shares
काठमाडौं । काठमाडौँमा रातको समयमा लुटपाट र आतङ्क मच्चाउने १० जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै बुधबारदेखि चलाएको विशेष 'सर्च अपरेसन'का क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो।
परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार यो गिरोहले 'जेन–जी' आन्दोलनपछि रातको १२ देखि बिहान ४ बजेसम्मको समयमा हिँड्ने व्यक्तिहरूलाई लक्षित गरी लुटपाट गर्दै आएको थियो। लुटपाट गिरोहको नाइके विनय तामाङ रहेको र उनलाई पक्राउ गर्ने क्रममा दोहोरो झडप हुँदा उनी र एक प्रहरी जवान घाइते भएका छन्। विनय गत भदौ २४ गते प्रहरी हिरासतबाट फरार भएका अभियुक्त हुन्।
एसएसपी थापाले भने, "यो समूहले पछिल्लो ३ महिनादेखि प्रहरीलाई चुनौती दिइरहेको थियो। उनीहरू दुईवटा मोटरसाइकलमा ३–३ जना चढेर सडकमा निस्कन्थे र एक्लै हिँड्नेलाई लुट्थे। दिनभर ट्याक्सी वा अन्य सवारी चलाउने र रात परेपछि लुटपाटमा निस्कने उनीहरूको शैली देखिन्छ।" प्रहरी चेकिङबाट बच्न उनीहरूले मोटरसाइकल छाडेर ट्याक्सी वा निजी कारमा भाग्ने 'ट्रिक' समेत अपनाउने गरेका थिए।
अनुसन्धानका क्रममा यो गिरोहले स्वयम्भूमा ७, ठिमीमा १३, महाराजगञ्ज, बौद्ध र गौशाला क्षेत्रमा ३–३ वटा गरी दर्जनौँ स्थानमा लुटपाट गरेको खुलेको छ। उनीहरू विरुद्ध हालसम्म २७ वटा जाहेरी परेका छन्। पक्राउ पर्नेमा विनयसँगै आयन माझी, मनिस रसाईली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ३ वटा मोटरसाइकल, एउटा ट्याक्सी, सुनका गहना र नगद बरामद गरेको छ। पक्राउ परेका सबैजना काभ्रे, रामेछाप र सिन्धुली क्षेत्रका बासिन्दा हुन् र उनीहरू यसअघि पनि चोरी तथा डाँका मुद्दामा संलग्न रहेको प्रहरीले जनाएको छ।