निर्वाचन बिथोल्न खोज्नेलाई ठाउँको ठाउँ कारबाही गरिनेछ : गृहमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
799
Shares
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताएका छन्।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी लिन बिहीबार निर्वाचन आयोग पुगेका उनले शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीलाई कडा कारबाही गर्न सरकार कटिबद्ध रहेको उल्लेख गरे।
गृहमन्त्री अर्यालले मतदाता, राजनीतिक दल, उम्मेदवार, कर्मचारी र सुरक्षाकर्मी सबैका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए। यसका लागि मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुने गरी विशेष सुरक्षा योजना बनाएको उनको भनाइ छ। "आपराधिक तथा निर्वाचन विरोधी गतिविधिमा शून्य सहनशीलताको नीति अपनाउन स्थानीय प्रशासन र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिइसकेको छु," उनले भने।
छलफलका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका लागि आयोगको तर्फबाट हुनुपर्ने व्यवस्थापकीय तयारी पूरा भएको जानकारी दिए। उनले संविधान, कानुन र आचारसंहिता विपरीत हुने गतिविधिप्रति आयोग कठोर रूपमा प्रस्तुत हुने र कुनै पनि प्रकारको दण्डहीनता मान्य नहुने स्पष्ट पारे।
छलफलमा निर्वाचन आयुक्तहरू, निर्वाचन आयोग र गृह मन्त्रालयका सचिव लगायत उच्च अधिकारीहरूको उपस्थिति थियो। निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गराउने विषयमा केन्द्रित रहेर छलफल भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।