arrow

लुलाङ एक हप्तादेखि अन्धकारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
Myagdi-hamrakura.jpeg

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ। दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राविधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया र मरेनी टोलका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन्।

लुलाङ आधारभूत विद्यालयका शिक्षक दर्पण रोकाले विद्युत नहुँदा रातिको समयमा उज्यालो बनाउन, घरायसी काम गर्न र विद्यार्थीको पठनपाठनमा बाधा पुगेको बताए। उनले वडा कार्यालयको सेवा प्रवाह समेत प्रभावित भएको र मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सम्पर्क विच्छेद भएको गुनासो गरे। साविक लुलाङ गाविसका ३७० घरधुरीले यो परियोजनाबाट विद्युत उपभोग गर्दै आएका थिए।

गत जेठ महिनामै लुलाङमा केन्द्रीय प्रसारण लाइन पुगेको भए पनि स्थानीयले लघुजलविद्युत प्रयोग गरिरहेकाले घरमा मिटरबक्स जडान र वाइरिङ गर्न चासो दिएका थिएनन्। गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले केन्द्रीय लाइन पुगिसकेको ठाउँमा लघुजलविद्युत मर्मत गर्न सरकारी कार्यविधिले नदिने बताए। उनले अब नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर तत्काल मिटरबक्स जडान गरी केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गर्न पहल भइरहेको जानकारी दिए।

उपाध्यक्ष पुनका अनुसार लघुजलविद्युतमा पटक–पटक समस्या आउने भएकाले दीर्घकालीन समाधानका लागि केन्द्रीय लाइन जोड्नु नै उत्तम विकल्प हो। गत जेठमा पुगेको केन्द्रीय विद्युत हालसम्म खोरियास्थित नेपाल टेलिकमको टावर सञ्चालनका लागि मात्र प्रयोग हुँदै आएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ