arrow

मतदान गर्न एक हप्ताको पैदल यात्रा: चिसो छल्न डोटी झरेका भोटे समुदायलाई सास्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
jholunge-pool-bajura.jpg

काठमाडौँ । चिसो छल्न बेँसी झरेका बाजुराका जनजाति समुदायलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न समस्या पर्ने देखिएको छ। हरेक वर्ष मङ्सिरमा भेडापालनसहित बेँसी झर्ने यो समुदाय चैतमा मात्र गाउँ फर्किने भएकाले उनीहरू मतदान प्रक्रियाबाट वञ्चित हुने जोखिम बढेको हो।

जनजाति महासङ्घ बाजुराका पूर्वअध्यक्ष नृपबहादुर थापा (भोटे) का अनुसार चिसो छल्न बेँसी झरेका करिब पाँच सयभन्दा बढी परिवार अहिले डोटीको सानागाउँलगायतका क्षेत्रमा अस्थायी बसोबास गरिरहेका छन्। बडीमालिका, बूढीनन्दा र हिमाली गाउँपालिकाका विभिन्न वडामा स्थायी बसोबास गर्ने यी मतदाताहरूलाई आफ्नो मतदान केन्द्रसम्म पुग्न एक हप्ताभन्दा बढी समय लाग्छ। डोटीको सानागाउँमा रहेका जगत थापाले आफ्नो परिवारका चारै जना सदस्य यतै रहेकाले मतदान गर्न गाउँ जान कठिन हुने दुखेसो पोखेका छन्।

यस विषयमा प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाले मतदाताहरूलाई मतदानका लागि गाउँ आउन प्रेरित गरिने बताएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार बाजुरामा यसपटक ७७ मतदानस्थल र ११८ मतदान केन्द्र कायम गरिएका छन्। जिल्लाभर कुल ८७ हजार ८६१ मतदाता रहेका छन्, जसमा ४१ हजार ६१८ महिला र ४६ हजार २४३ पुरुष मतदाता रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ