सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानूनी दायरामा ल्याउन आदेश कुर्नुपर्दैन : गृहमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
803
Shares
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसहितको एक सरकारी टोलीले आइतबार नेपाल प्रहरीको साइबर ब्युरो र काठमाडौँको हनुमानढोकामा अवस्थित पुरानो काठमाडौँ प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकन गरेका छन् ।
गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्लेसहितको टोलीले भोटाहिटीस्थित ब्यूरो कार्यालय पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुको साथै सेवालाई थप प्रभावकारी बनाउन समेत निर्देशन दिए ।
सो क्रममा, गृहमन्त्री अर्यालले आशन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालबाट हुन सक्ने अमर्यादित र कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार वा जानकारीहरूलाई सुक्ष्म ढंगले अनुगमन गर्दै त्यस्ता अवैधानिक र दर्ता बिनै सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूको नियमनका लागि खेल्नुपर्ने भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।
ब्युरोबाट नियमित र विशेष रूपमा प्रदान गरिने सेवाबारे ब्यूरो प्रमुख तथा प्रहरी नायब महानिरीक्षक नबीन्द अर्यालबाट जानकारी लिई, ब्यूरोले यो निर्वाचनको समय अझै बढी सक्रिय भई स्वचालित रूपमा कार्यालय आफै सक्रिय भएर सामाजिक सञ्जालमा राखिने र छरिने भ्रमहरूलाई माथीको आदेश कुर्नु नपर्ने र अवैधानिक पोस्ट तथा मिथ्या जानकारीहरूलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन निर्देशन दिए ।
समाजमा सामाजिक सद्भावमा खलल पुर्याउने कार्यमा सामाजिक सञ्जालको दुरुपयोग हुन नदिई फागुन २१ गतेको निर्वाचनको माहौल बनाइराख्न पनि ब्युरोले अहिले गरेको कार्यमा थप तदारुकताका साथ काम गर्नु पर्नेमा मन्त्री अर्यालले जोड दिए ।
कतिपय व्यक्ति, संस्था र समूहले गर्ने र हाल्ने पोस्टहरू कत्तिको तथ्यपरक र सही हुन् त्यसको जानकारी लिई ब्युरो आफैले त्यस्ता पोस्ट र जानकारी हाल्ने जो कोहीलाई कानूनी दायरामा ल्याई कारबाही गर्न पनि गृहमन्त्री अर्यालले ब्यूरो प्रमुखलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बताए ।
सोही क्रममा गृहमन्त्री अर्यालले नेपाल प्रहरीको पुलिस क्लबमा पुगेर त्यहाँ राखिएका पुरातात्विक महत्वका मूर्तिहरूको अवलोकन समेत गरेका थिए ।