arrow

 ‘बलियो एकता, सुरक्षित राष्ट्र’ नारासहित हुँदै प्रधान सेनापति खुला म्याराथन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
army-chief-marathon-82-10-11.jpg

काठमाडौँ । यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन दौड प्रतियोगिता’ यही माघ २४ गते हुने भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको जानकारी दिइएको हो ।

उक्त प्रतियोगिताअन्तर्गत ४२ दशमलव १९५ किमी दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधाको २१ किमी दूरीको हाफ म्याराथन आयोजना हुने नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । उनका अनुसार म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः रु तीन लाख, रु दुई लाख र रु एक लाख नगद पुरस्कार प्रदान गरिनेछ ।

हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमशः रु एक लाख, रु ७५ हजार र रु ५० हजार प्रदान गरिने तालिम तथा खेलकुद केन्द्रका प्रमुख मदनजङ्ग राणाले जानकारी दिए । 

सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालय कार्यरत कर्मचारी, सेनाका अवकास प्राप्त तथा सेवारत सकलदर्जा र गैरसैनिकका कक्षा १० देखि १२ मा अध्ययनरत सन्तानको सहभागितामा १० किमी दूरीको दौड प्रतियोगिता पनि आयोजना हुनेछ ।

सोही दिन आयोजना हुने पाँच किमी दूरीको वाकाथनमा प्रमुख अतिथि र आमन्त्रित उच्च पदस्थ व्यक्तिको सहभागिता हुने केन्द्रका सेनानी गगनबहादुर महतराले जानकारी दिए । 

सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्रा सम्मिलित पाँच किमी दूरीको दौडसमेत सञ्चालन हुनेछ । दश किमी र पाँच किमी दौडमा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष विधाका धावकलाई क्रमशः रु दश हजार, रु सात हजार र रु पाँच हजार नगद प्रदान गरिने छ । 

विसं २०७२ देखि प्रत्येक वर्ष महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आयोजना हुँदै आएकामा यस वर्ष यस ११औँ संस्करणको प्रतियोगितामा आयोजना हुनेछ । 

विभिन्न पाँच विधामा करिब दुई हजार ५०० धावकको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । यस वर्ष महाशिवरात्रि तथा सेना दिवस आगामी फागुन ३ गते परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ