कर्णालीमा राष्ट्रिय सभा निर्वाचन: मुख्यमन्त्री कँडेलले गरे पहिलो मतदान
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
650
Shares
काठमाडौँ । राष्ट्रिय सभाका रिक्त पदका लागि कर्णाली प्रदेशमा आज बिहान ९ बजेदेखि उत्साहजनक रूपमा मतदान सुरु भएको छ। प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगरमा स्थापना गरिएको मतदान केन्द्रमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पहिलो मतदान गर्दै निर्वाचन प्रक्रियाको शुभारम्भ गरेका छन्।
कर्णालीबाट रिक्त हुने दुई सदस्य पदका लागि यसपटक तीन दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेको सत्तारुढ गठबन्धनका तर्फबाट अन्य क्लस्टरमा कांग्रेसका ललितजङ्ग शाही र महिला क्लस्टरमा एमालेकी मिना सिंह रखाल उम्मेदवार रहेका छन्।
उता विपक्षी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अन्य क्लस्टरमा बुद्धिप्रसाद शर्मा र महिला क्लस्टरमा अञ्जु महतारा शाहीलाई प्रतिस्पर्धामा उतारेको छ।
मतभारको अंकगणित हेर्दा कर्णालीमा कांग्रेस र एमालेको गठबन्धन निकै बलियो देखिएको छ। प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको कुल मतभारमध्ये यस गठबन्धनसँग तीन हजार ५८ मतभार रहेकाले दुवै सिटमा गठबन्धनकै उम्मेदवारहरू विजयी हुने प्रबल सम्भावना रहेको आँकलन गरिएको छ।
यस चुनावी परिणामले कर्णालीमा नेकपाले आफ्नो एक सिट गुमाउने र नेपाली कांग्रेसले थप एक सिट सुरक्षित गर्ने संकेत गरेको छ भने एमालेले आफ्नो साविकको सिट जोगाउने देखिएको छ।