दुई सिटका लागि बागमती र गण्डकीमा छ-छ जना प्रतिस्पर्धामा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
623
Shares
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती र गण्डकी प्रदेशमा दुई–दुई रिक्त पदका लागि मतदान भइरहेको छ। निर्वाचन आयोगले दुवै प्रदेशमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ भने मतदानका लागि आवश्यक कर्मचारी, सुरक्षा र भौतिक तयारी पूरा भएको जानकारी दिएको छ।
बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सदस्य चयनका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन्। हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ। निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार मतदानका लागि मतपत्र र कर्मचारी तयारी अवस्थामा छन्।
बागमतीमा महिला क्लस्टरतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा, नेकपाकी सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीकी कविता महर्जनबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै, अन्य क्लस्टरमा नेकपा (एमाले) का डा. प्रेमप्रसाद दङ्गाल, नेकपाका प्रेम सापकोटा र नेमकिपाका विक्रम ढुकुछु उम्मेदवार छन्। बागमतीमा ११० प्रदेशसभा सदस्य र २३८ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी कुल ३४८ मतदाता रहेका छन्, जसमा मतभारका हिसाबले नेपाली कांग्रेस बलियो अवस्थामा देखिएको छ।
गण्डकी प्रदेशमा पनि दुई सदस्यका लागि आजै निर्वाचन कार्यालय पोखरामा मतदान भइरहेको छ। सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिका लागि छुट्टाछुट्टै दुईवटा मतदान केन्द्र तोकिएको छ। गण्डकीमा ५९ प्रदेशसभा सदस्य र १६९ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी कुल २२८ मतदाता छन्।
गण्डकीमा प्रमुख दलहरूबीच चुनावी तालमेल देखिएको छ। यहाँ एमाले र कांग्रेसले साझा उम्मेदवार उठाएका छन्, जसमा महिलातर्फ एमालेकी सम्झना देवकोटा र अन्यतर्फ कांग्रेसका प्रा.डा. जगत् तिमिल्सिना मैदानमा छन्। उता, नेकपाले महिलामा गोमा लुइँटेल घिमिरे र अन्यमा कपिल लामालाई उठाएको छ भने राष्ट्रिय जनमोर्चाबाट महिलामा लक्ष्मी बाँस्कोटा र अन्यमा शङ्करप्रसाद बराल उम्मेदवार रहेका छन्।
निर्वाचन आयोगले मतदान सकिएलगत्तै गणना सुरु गर्ने र आजै साँझसम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ।