वैदेशिक लगानीमा कृषिको आकर्षण: छ महिनामा ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमै २१ अर्ब
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
731
Shares
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (पुस मसान्त) सम्ममा नेपालका ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार यो अवधिमा साना उद्योगहरूप्रति विदेशी लगानीकर्ताको आकर्षण बढी देखिएको छ।
विभागका अनुसार चालू आवमा प्रतिबद्धता आएका उद्योगमध्ये ४६० वटा साना, ८ वटा मध्यम र ७ वटा ठूला उद्योग रहेका छन्। पुस महिनामा मात्रै ३६ वटा साना उद्योगका लागि ५ अर्ब ९९ करोड ५० लाख रुपैयाँको लगानी प्रस्ताव आएको छ। योसँगै नेपालमा हालसम्मको कुल वैदेशिक लगानी प्रतिबद्धता ६ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा उद्योगको संख्याका आधारमा सूचना प्रविधि क्षेत्र सबैभन्दा अगाडि देखिएको छ। सूचना प्रविधिका २५७ वटा उद्योगका लागि १ अर्ब ७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। यद्यपि, लगानीको रकमका आधारमा भने कृषिमूलक क्षेत्र पहिलो स्थानमा रहेको छ। कृषिका केवल १३ वटा उद्योगमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँको ठूलो लगानी प्रस्ताव गरिएको छ।
अन्य क्षेत्रको अवस्था हेर्दा पर्यटनमूलक १४५ उद्योगमा १० अर्ब ५४ करोड, सेवामूलक ३१ उद्योगमा ३ अर्ब ४६ करोड र उत्पादनमूलक २७ उद्योगमा २ अर्ब ३ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। यस्तै ऊर्जामूलक र खनिज क्षेत्रमा पनि सामान्य लगानीको प्रस्ताव प्राप्त भएको विभागले जनाएको छ। असोज मसान्तसम्म ३५ अर्ब १३ करोड रहेको लगानी प्रतिबद्धता पछिल्ला तीन महिनामा करिब ४ अर्बले थपिएको हो।