काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा ट्रयाक खुलेको १५ वर्षपछि सडक स्तरोन्नतिको काम सुरु भएको छ। बेनी–दरवाङ सडक खण्डको वैकल्पिक मार्गका रूपमा लिइएको पोक–सेराफाँट–पिपलबोट–छिसवाङ–खोप्टी–दरवाङ सडकअन्तर्गत छिसवाङ क्षेत्रमा सङ्घीय सरकारको बजेटबाट निर्माण कार्य अघि बढाइएको हो।
सडक डिभिजन कार्यालय बागलुङमार्फत चालु आर्थिक वर्षका लागि विनियोजित ३ करोड रुपैयाँमध्ये २ करोड ५ लाख ५५ हजार रुपैयाँमा आचार्य–पदमदीप जेभीसँग ठेक्का सम्झौता भई काम सुरु भएको छ। निर्माण कम्पनीका अनुसार खहरेदेखि छिसवाङ हुँदै ओखोलासम्मको करिब डेढ किलोमिटर सडकलाई ९ मिटर फराकिलो बनाइनेछ। यस योजनाअन्तर्गत पक्की नाली, पर्खाल निर्माण र ग्राभेल गर्ने कार्य २०८३ असारसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
वि.सं. २०६७ मा मार्ग खुले पनि हालसम्म यो सडक ३ देखि ४ मिटर मात्र फराकिलो थियो, जसका कारण एकतर्फी यातायात सञ्चालनमा निकै सास्ती हुने गरेको थियो। अहिले सडक फराकिलो बनाउन स्थानीयवासीले समेत स्वःस्फूर्त रूपमा जग्गा उपलब्ध गराएर सहयोग गरिरहेका छन्। यो सडक विस्तार भएपछि मङ्गला वडा नं ५ सहित मालिका गाउँपालिकाका १ र २ नम्बर वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्।
रणनीतिक महत्त्वको यो सडकलाई बेनी–दरवाङ सडक खण्ड पहिरोका कारण अवरुद्ध हुँदा वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिन्छ। विगतका वर्षहरूमा गाउँपालिका र प्रदेश सरकारले विभिन्न खण्डमा स्तरोन्नति गरिसकेका छन्। अब हिलवाङ, ओखोला र अर्मनखोलामा मोटरेबल पुल निर्माण गर्न सके यो सडक बाह्रै महिना सञ्चालनमा आउने विश्वास स्थानीयको छ।