पश्चिमी वायुको प्रभावले तराईमा कुहिरो, पहाडमा आंशिक बदली
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
730
Shares
काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यस मौसमी प्रणालीका कारण आगामी केही समय देशको पहाडी र तराई क्षेत्रमा फरक-फरक मौसमी अवस्था रहनेछ।
बिहीबार दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने सम्भावना छ भने देशका अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, तराईका केही स्थानमा भने दिउँसो पनि कुहिरो लाग्ने देखिएको छ।
रातीको समयमा पनि कोशी प्रदेशका उच्च पहाडी क्षेत्रमा आंशिक बदली कायमै रहनेछ। तराई क्षेत्रमा भने राती र बिहानपख बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
सतर्कताको लागि अनुरोध: बिहानको समयमा लाग्ने हुस्सु र कुहिरोका कारण दृश्यात्मकता कम भई जनजीवन, स्वास्थ्य, पर्यटनका साथै हवाई र सडक यातायात समेत प्रभावित हुन सक्ने देखिन्छ। त्यसैले यात्रा गर्दा वा बाहिर निस्कँदा आवश्यक सावधानी र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ।