दलीय पक्षधरतामुक्त सरकारले तोकिएकै समयमा निष्पक्ष चुनाव गराउँछ : गृहमन्त्री अर्याल
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
674
Shares
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य काँधमा निष्पक्ष र धाँदलीरहित निर्वाचन गराउने जिम्मेवारी रहेको स्पष्ट पारेका छन्। बुधबार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले दलीय पक्षधरताबाट मुक्त रहेकाले यो सरकारले कसैको पक्ष नलिई चुनाव सम्पन्न गर्ने दाबी गरे। संविधान र व्यवस्थालाई कायम राख्न तोकिएकै समयमा निर्वाचन हुनु अपरिहार्य रहेको उल्लेख गर्दै उनले संसद् विघटन भएको ६ महिनाभित्रै चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताए।
उनले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको यो सरकार निष्पक्षता र स्वतन्त्रताको प्रतीक भएको जिकिर गरे। गृहमन्त्री अर्यालले भने, "विद्रोहपछि पनि संवैधानिक व्यवस्थालाई सुचारु राख्न चुनाव आवश्यक छ, यो सरकारले दलगत स्वार्थभन्दा माथि उठेर निष्पक्ष चुनाव गराउँछ।" उनले जेन-जी आन्दोलनपछि संकटमा परेको देशलाई वर्तमान सरकारले सुरक्षित ढंगले व्यवस्थापन गरिरहेको समेत उल्लेख गरे।
सुरक्षा निकायको सन्दर्भमा बोल्दै मन्त्री अर्यालले वर्तमान सरकार गठन भएपछि सुरक्षा फौज र नागरिकको मनोबल बढेको दाबी गरे। विगतमा सुरक्षा निकाय र गृह प्रशासनको दुरुपयोग हुने गरेको स्मरण गर्दै उनले अहिले आफूले मन्त्रालय र मातहतका निकायमा कुनै पनि अनुचित हस्तक्षेप हुन नदिएको बताए। उनले केही व्यक्तिहरूले मन्त्रालयमा हस्तक्षेप गर्न नपाएर आफ्नो आलोचना गरेको भए तापनि आफू जोखिम मोलेरै सुरक्षाकर्मीको मर्यादा र मनोबल बढाउन खडा भएको स्पष्ट पारे।