सरकारले निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउँछ : गृहमन्त्री अर्याल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
710
Shares
जनकपुरधाम। गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकार कुनै किसिमको अपराध हुन नदिन कटिबद्ध रहेको बताएका छन् ।
बुधबार जनकपुरधाममा आयोजित मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा सम्बोधन गर्दै गृहमन्त्री अर्यालले अपराध हुन नदिन र भएको खण्डमा अपराधीलाई कानूनी दायरामा ल्याउन सरकार कटिबद्ध रहेको बताएका छन् ।
अभिव्यक्ति स्वतन्त्रताको नाममा धार्मिक सद्भाव खलबलिने, हिंसा भड्काउने, राजनीतिक हिंसा उत्पन्न हुने जस्ता कुरा बोल्नेहरूलाई सरकारले विगतमा पनि कारवाही गरेको र आगामी दिनमा पनि कारबाहीको दायरामा ल्याउन कटिबद्ध रहेको गृहमन्त्री अर्यालले जानकारी दिए ।
उनले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई अपराध नियन्त्रण गर्न बढी ध्यान दिन निर्देशन दिएको बताए ।
द्वन्द्व र हिंसा भड्किनु भन्दा पहिलानै पूर्व संकेत पाउने बित्तिकै स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको र सोही अनुसार सफलता पनि पाइएको गृहमन्त्री अर्यालले जानकारी दिए । रोकथामको चरणमा सरकार निकै क्रियाशील रहेको उनले बताए ।
गृहमन्त्री अर्यालले संघीयताको असल अभ्यास कसरी गर्ने भन्ने सम्बन्धमा मधेस प्रदेश नै अग्रणी देखिएकोले आफूलाई खुशी लागेको बताए ।
मधेस प्रदेशले संघीयता कार्यान्वनका लागि खेलेको भूमिकालाई मार्ग दर्शन गर्दै अन्य प्रदेशहरूले पनि ग्रहण गर्ने उनले बताए ।
मधेस प्रदेशको भूमिका र पहललाई केन्द्र सरकारले पनि बढावा दिने गृहमन्त्री अर्यालले जानकारी दिए ।
लुटिएका हातहतियार र फरार कैदीबन्दी नियन्त्रण सरकारको विशेष अपरेशन तहत रहेको गृहमन्त्री अर्यालले बताए ।
उनले अधिकांश हातहतियार र कैदीबन्दी पक्राउ परिसकेको र बाँकीलाई नियन्णमा लिने प्रयासहरू भइरहेको बताए ।
उनले केही जिल्लाहरूमा विशेष टेक्निकहरू अपनाएर हातहतियार र कैदिबन्दी समात्ने कार्य भइरहेको जानकारी दिए ।
प्रहरीको बन्दोबस्तीका सरसामानहरू चुनाव अघि नै व्यवस्थापन गर्न भारती सरकारसँग समन्वय भइरहेको गृहमन्त्री अर्यालले जानकारी दिए ।
उनले सवारी साधन, गैर घातक हतियारलगायतका सामानहरू खरिद प्रक्रिया शुरू भइसहेको जानकारी दिए ।
गृहमन्त्री अर्याललले सीमा नाकामा बसोबास गर्दै आएका जनता नै असल सीमा रक्षक भएको धारणा राखे ।
उनले सीमा नाकामा बसोबास गर्ने जनतासँग राज्यको कटुता हुने कुनै व्यवहारलाई बढावा नदिने सरकारको नीति रहेको बताए ।
उनले सीमा नाकाका जनतासँग मिलेर यो राष्ट्रको सार्वभौमिकताको रक्षा सरकारले गर्ने उल्लेख गरे ।
गृहमन्त्री अर्यालले लागूऔषध नियन्त्रण, धार्मिक सद्भाव कायम गर्न विशेष पहल भइहरको बताए ।
मौलिक धर्म संस्कृतिको रक्षा गर्नु सरकारको दायित्व भएकाले सरकार प्रतिबद्ध रहेको उनले बताए ।
धार्मिक आवरणमा गरिने हिंसा, राष्ट्र विरोधी गतिविधि गर्नेहरूलाई छुट नदिइने गृहमन्त्री अर्यालले जानकारी दिए ।
बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले मधेस प्रदेश सरकारले प्रहरी समायोजन नभएकाले प्रदेश सरकारलाई कामकाज अगाडि बढाउन समस्या भोग्नु परिरहेको गुनासो गरे ।
उनले गृहमन्त्री अर्याल समक्ष प्रहरी समायोज र कर्मचारी हस्तान्तरणको प्रक्रिया अगाडि बढाइदिन केन्द्र सरकारलाई आग्रह गरे ।
बैठकमा मधेस प्रदेशका गृहसञ्चार तथा कानून मन्त्री फकिरा महतोले सीमा नाकाका क्षेत्रहरूमा हुँदै आएको लागूऔषध र अपराधका घटनाहरूबारे गृहमन्त्री अर्याललाई जानकारी गराएका थिए ।