नेपाल 'ग्रे लिस्ट'मा हुँदा वित्तीय असुरक्षा: शंकास्पद कारोबारको संख्या १० हजार पुग्नै लाग्यो
एकै वर्ष ४२ अर्बको शंकास्पद कारोबार, ८२ प्रतिशतले बढ्यो दर
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
840
Shares
काठमाडौँ । नेपालको वित्तीय प्रणालीमा शंकास्पद कारोबारको दरमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार शंकास्पद कारोबार अघिल्लो वर्षको तुलनामा ३०.३५ प्रतिशतले बढेको हो। नेपाल हाल सम्पत्ति शुद्धीकरणको 'ग्रे लिस्ट' मा रहेको संवेदनशील अवस्थामा यसरी शंकास्पद वित्तीय गतिविधि बढ्नुलाई थप चुनौतीका रूपमा हेरिएको छ।
प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा ७ हजार ३ सय ३८ वटा शंकास्पद कारोबार रिपोर्ट भएकोमा समीक्षा वर्षमा यो संख्या बढेर ९ हजार ५ सय ६५ पुगेको छ। रकमका आधारमा त यो वृद्धि अझ भयावह देखिएको छ।
अघिल्लो वर्ष २३ अर्ब २६ करोड रुपैयाँ बराबरको शंकास्पद कारोबार भएकोमा गत वर्ष ८२.७५ प्रतिशतले वृद्धि भई ४२ अर्ब ५१ करोड १९ लाख रुपैयाँ पुगेको छ। प्राप्त रिपोर्टहरूमध्ये ९ सय ४५ वटा गम्भीर प्रकृतिका प्रतिवेदनहरू थप अनुसन्धान र अभियोजनका लागि नेपाल प्रहरी तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ।
क्षेत्रगत रूपमा सबैभन्दा धेरै शंकास्पद सूचना वाणिज्य बैंकहरूबाट प्राप्त भएका छन्, जहाँ ३८ अर्ब ८८ करोड बराबरका ७ हजार ३ सय ३ वटा रिपोर्टिङ भएका छन्। यसबाहेक विकास बैंक, सेयर ब्रोकर, बिमा, रेमिट्यान्स, सहकारी र क्यासिनोहरूबाट पनि उल्लेख्य संख्यामा शंकास्पद कारोबारको सूचना प्राप्त भएको छ।
अन्तर्राष्ट्रिय स्तरमा समेत इकाइले सक्रियता देखाउँदै विदेशी वित्तीय जानकारी इकाइहरूसँग ६४ वटा सूचना आदानप्रदान गरेको छ, जसले साइबर ठगी र अन्तरदेशीय अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ। इकाइले आगामी दिनमा प्रविधिमा आधारित विश्लेषण र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको सुधारलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।