दोस्रो विशेष महाधिवेशनको बन्दसत्र समापनमा महामन्त्री गगन थापाले के भने ? [पूरा भिडियो]
पार्टीको निर्णय महाधिवेशनको हलले गर्छ, बाहिरको सम्झौता मानिँदैन, हामीलाई सभापति पद चाहिएको छैन, पार्टी सुधार्न नेतृत्व फेरौँ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
894
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र देखिएका विद्यमान समस्याहरूको निर्णय गर्ने अन्तिम र एकमात्र अधिकार विशेष महाधिवेशनको हललाई मात्र भएको बताएका छन्। मंगलबार भृकुटीमण्डपमा आयोजित महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको विवाद समाधानका लागि भइरहेका संवादहरू सकारात्मक भए पनि त्यस्ता छलफलले महाधिवेशनको हललाई उछिन्न नसक्ने टिप्पणी गरे।
महामन्त्री थापाले पार्टीको निर्वाचनसम्बन्धी कार्यक्रमहरू अगाडि बढिसकेको जानकारी दिँदै कुनै पनि हालतमा निर्वाचन प्रक्रिया स्थगित नहुने स्पष्ट पारे। उनले विशेष महाधिवेशनलाई टिकट वितरणको बार्गेनिङसँग जोडेर अपमान गर्न खोजिएको भन्दै त्यस्तो हल्लाप्रति कडा आपत्ति जनाए। हजारौँ प्रतिनिधिहरू दुई दिनदेखि पार्टी सुधारको गम्भीर मन्थनमा जुटेको अवस्थामा यसलाई व्यक्तिगत स्वार्थ र भागबण्डाको कसीमा राखेर नहेर्न उनले चेतावनी दिए।
सम्बोधनका क्रममा महामन्त्री थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई अहिले नै सभापति पद नचाहिएको स्पष्ट पार्दै पार्टीलाई सही दिशामा उभ्याउन नेतृत्व र नीति दुवैमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए। उनले आफूहरू पार्टीको सामान्य कार्यकर्ताका रूपमा चकटीमा बसेर काम गर्न तयार रहेको तर नेतृत्वले यस अभियानलाई हल्का रूपमा लिन नहुने बताए।
उनले भने, ‘साथीहरुले पार्टीभित्र देखिएका केही समस्याहरुलाई संवादबट टुंग्याउन सकिन्छ कि भनेर संवाद पनि गरिरहनुभएको छ । त्यो छलफल पनि आवश्यक थियो । तर त्यो छलफलको कुरा यो हलबाट बाहिर कतै गएर पनि टुंगिदैन । यो विशेष महाधिवेशन हो यही हलले गर्नेछ । भोलि बिहान पनि प्रतिनिधिहरु आएर निर्णय गर्यो भने महामन्त्रीहरुले त्यो निर्णयलाई शिरोधार्य गर्नुपर्छ । हलले जे अनुमोदन गर्छ त्यो कुरालाई मान्ने हो । हलले अनुमोदन नगरेको केही पनि मानिदैन । आज दिनभरी तपाईहरुले सुनिरहनुभएको छ टिकटको हल्ला चलाइदिएको छ । हजारौँ साथिहरु आएर यहाँ दुई दिनदेखि मन्थन गरिरहनुभएको छ तर यसलाई टिकटका लागि हो भनेर अपमानित गर्ने प्रयास गरिएको छ । यो त भागबण्डाको लागि हो । अहिले पनि हाम्रो कुरा बुझ्ने कोसिश भइरहेको छैन । न गगन थापालाई सभापति चाहिएको छ न त विश्वप्रकाश शर्मालाई सभापति चाहिएको छ । हामी चक्रीमा गएर बस्न तयार छौँ पार्टीलाई ठिक ठाउँमा उभ्याउँ । यसका निम्ति नेतृत्व फेरौँ, नीति पनि फेरौँ । नेतृत्व अहिलेका लागि जसले गरेपनि हुन्छ भनेर हामीले त पटक पटक भन्दै आइरहेका छौँ । यति कुरा भन्दा पनि हामी तपाईलाई हलुकासँग नलिन आग्रह गर्न चाहन्छु । निर्वाचनको प्रक्रिया अघि बढिसकेको छ । सोहीअनुसार अगाडि बढ्छ ।’
थापाका अनुसार बाहिर कतै गरिने सम्झौताभन्दा पनि महाधिवेशनको हलले जे अनुमोदन गर्छ, त्यसैलाई महामन्त्रीहरूले शिरोधार्य गर्नेछन्। उनले पार्टीलाई रूपान्तरण गर्नका लागि दृढ संकल्पका साथ अघि बढ्ने दोहोर्याउँदै निर्वाचनको प्रक्रिया सोहीअनुसार अगाडि बढ्ने विश्वास दिलाए।