प्रेस युनियनसहित सात संगठनले पत्रकार महासंघलाई यस्तो तेतावनी दिए
प्रकाशित २०७३ फागुन ५ बिहिबार
1k
Shares
काठमाडौं । पत्रकार महासंघको सदस्यता विवाद उत्कर्षमा पुगेको छ । नेपाल प्रेस युनियन सहित सात वटा पेशागत संगठनहरुले सदस्यता विवाद अन्त्य गरेर मात्रै अधिवेशनको प्रक्रिया अघि बढाउन माग गरेका छन् । उनीहरुले विहिबार संयुक्त वक्तव्य जारी गर्दै महासंघको केन्द्रीय कार्यालयमा युनियनले लगाएको तालावन्दीको समाधान खोज्दै सदस्यता विवाद सकाएर मात्र विभिन्न चरणमा हुने अधिवेशनका प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।
समस्या समाधान नभई अधिवेशन गराए स्थानीय स्तरमा उत्पन्न हुने सबै प्रतिक्रियाको दोषी नेपाल पत्रकार महासंघ र यसको उच्च नेतृत्व नै हुने उनीहरुले चेतावनी दिएका छन् ।
विज्ञप्तीको पूर्णपाठ मिति २०७३ फागुन ५ प्रेस वक्तव्य नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ अहिले इतिहासकै गम्भिर मोडमा आएको छ । महासंघको सदस्यतामा अनियमितता भएपछि केन्द्रीय कार्यालयमा इतिहासमै पहिलोपटक तालावन्दी हुने अवस्था आउनु महासंघ केन्द्रीय नेतृत्वको लागि. लज्जाको विषय हो । लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा प्रतिवद्ध हामीहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि लड्दै आएका छौं । राज्य र संविधानले अंगिकार गरेका व्यवस्था र प्रावधानहरुलाई हामी आत्मसाथ गर्दै समावेशी चरित्र समाजका सबै निकायमा देख्न चाहन्छौ । यि विषयहरु विधी, विधान, प्रक्रिया र विगतमा अवलम्वन गरिएका अभ्यासहरु मार्फत निर्देशित हुनुपर्छ भन्नेमा विश्वास राख्दछौं । तर माथि उल्लेख गरिएका विषयहरुलाई नजरअन्दाज गर्दै असहिष्णु व्यवहार देखाउँदा नेपाल पत्रकार महासंघ विश्रृङखलताको दलदलमा भासिएको छ। फलस्वरुप केन्द्रीय कार्यालयमा तालावन्दी भएको छ भने विभिन्न जिल्ला शाखाहरुमा पनि तालावन्दी गरिएका छन् ।
करिव ४० जिल्लामा सदस्यता अन्धाधुन्द थपिएको छ भने केन्द्रबाटै तजविजी शैलीमा सदस्यता थपिएको छ । यो अवस्थामा नेपाल पत्रकार महासंघका साझेदार हाम्रा संस्थाहरु महासंघको विभिन्न शाखाहरुको अधिवेशन स्वच्छ र पारदर्शी ढंगले हुन्छ भन्ने विश्वस्त हुन सक्ने अवस्था रहेन । यसकै जगमा हुने आसन्न महाधिवेशनको कुनै तुक समेत रहन्न । पत्रकारहरुको साझा संस्थालाई केहि अमूक दल निकटको भातृ संस्थाको रुपमा रुपान्तरित गर्ने प्रयासलाई हामी टुलुटुल हेर्न सक्दैनौ । नेपाल पत्रकार महासंघलाई यसको चरित्र अनुसार साझा नवनाउने हो भने हामीहरु लगायत धेरै संस्थाहरुले अझ गम्भिर स्थिति उत्पन्न हुनेतर्फ ध्यानाकर्षण गराउँछौ । तसर्थ नेपाल प्रेस युनियनले महासंघ केन्द्रीय कार्यालयमा तालावन्दी लगाएको कारणको हल खोज्दै सदस्यता विवाद सकाएर मात्र विभिन्न चरणमा हुने अधिवेशनका प्रक्रिया अघी बढाउन हामी जोडदार माग गर्दछौ । अन्यथा स्थानियस्तरमा उत्पन्न हुने सबै प्रतिक्रियाको दोषी नेपाल पत्रकार महासंघ र यसको उच्च नेतृत्व नै हुने हामी सचेत गराउँदछौ।
१. अजयबाबु शिवाकोटी महासचिव नेपाल प्रेस युनियन
२. तेजप्रकाश पण्डित अध्यक्ष नेशनल युनियन अफ जर्नालिष्ट