साक्षरता १६ प्रतिशतले बढ्यो, माध्यमिक तहपछि २५ प्रतिशत किशोरकिशोरी विद्यालय बाहिर
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
728
Shares
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ मा आधारित दुई वटा महत्त्वपूर्ण विषयगत प्रतिवेदन सार्वजनिक गरेको छ। मङ्गलवार सार्वजनिक गरिएका 'नेपालमा शिक्षा र समावेशिता' तथा 'नेपालमा बालबालिकाको अवस्था' विषयक प्रतिवेदनले नेपालको शैक्षिक र बालअधिकारको पछिल्लो तस्बिर झल्काएका छन्।
प्रतिवेदन अनुसार पछिल्लो १० वर्षमा साक्षरता दर १६ प्रतिशतले वृद्धि भएको छ भने १८ वर्षमुनिका बालबालिकाको विद्यालय जाने दर लगभग शतप्रतिशत पुगेको छ। प्रादेशिक रूपमा बागमती र गण्डकी प्रदेश ९५ प्रतिशत साक्षरता दरका साथ अग्रस्थानमा देखिएका छन्।
यद्यपि, शिक्षा क्षेत्रमा माध्यमिक तहपछिको ड्रपआउट (विद्यालय छोड्ने दर) भने चिन्ताजनक देखिएको छ। प्रतिवेदन अनुसार १५ देखि १९ वर्ष उमेर समूहका प्रत्येक चार जनामध्ये एक जना अझै पनि विद्यालयभन्दा बाहिर रहेका छन्।
बालबालिकाको अवस्था सम्बन्धी प्रतिवेदनले नेपालमा कुल ९८ लाख ६९ हजार ५८३ बालबालिका रहेको देखाएको छ, जुन कुल जनसंख्याको ३४ प्रतिशत हो। प्रादेशिक रूपमा बालबालिकाको संख्यामा ठूलो असमानता देखिएको छ, जसमा मधेस र लुम्बिनी प्रदेशमा संख्या उच्च छ भने कोशी र गण्डकीमा न्यून रहेको छ।
प्रतिवेदनले बालबालिकाको आर्थिक गतिविधि, अपाङ्गता, जन्मदर्ता र बसाइँसराइ जस्ता सूचकहरूमा समेत प्रदेशगत भिन्नता रहेको औँल्याएको छ। केही प्रदेशहरूमा बालश्रम र अपाङ्गता भएका बालबालिकाको अनुपात चिन्ताजनक रहेको निष्कर्ष निकाल्दै प्रतिवेदनले पारिवारिक संरचना र सामाजिक सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।