दोस्रो राष्ट्रिय आर्थिक गणनाको तयारी: गणकहरूका लागि आजदेखि देशव्यापी तालिम शुरू
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
623
Shares
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको 'दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२' का लागि छनोट भएका गणकहरूका लागि आजदेखि देशभर एकैसाथ पाँचदिने तालिम कार्यक्रम शुरू हुँदैछ। राष्ट्रिय अर्थतन्त्रका गतिविधि, यसको स्वरूप र संरचनाको वास्तविक तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले यो गणना सञ्चालन गर्न लागिएको हो।
तथ्याङ्क कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज लामिछानेका अनुसार देशभर रहेका ८४ वटा कार्यालयहरूबाट यो तालिम एकैसाथ सञ्चालन गरिनेछ। गणनाका लागि आवश्यक गणकहरूको छनोट प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ। पाँच दिनको सघन तालिम लिएपछि गणकहरू आफ्नो तोकिएको कार्यक्षेत्रमा खटिने तयारीमा छन्।
प्रवक्ता लामिछानेले आगामी २०८३ वैशाख २ गतेदेखि गणकहरू औपचारिक रूपमा देशभर आर्थिक गणनाको काममा खटिने जानकारी दिए। यसअघि नेपालमा पहिलो पटक विसं २०७५ को वैशाख-जेठ महिनामा राष्ट्रिय आर्थिक गणना गरिएको थियो। यो दोस्रो गणनाले मुलुकको पछिल्लो आर्थिक परिदृश्य र संरचनागत परिवर्तनलाई बुझ्न महत्त्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ।