ग्रे-लिस्टबाट निस्कन राष्ट्र बैंकको कसरत: आठ सय ४५ केस प्रहरी र अख्तियारमा
तीन हजार पाँच सय संस्था निगरानीमा, शङ्कास्पद कारोबारको रिपोर्टिङ ३० प्रतिशतले बढ्यो
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
804
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध नियन्त्रणका प्रयासहरूमा उल्लेख्य प्रगति भएको देखाएको छ।
यस प्रतिवेदनमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्कारी कार्यमा वित्तीय लगानी रोक्ने नीतिगत कार्य, शङ्कास्पद कारोबारको विश्लेषण र अन्तर्राष्ट्रिय समन्वयका विविध पक्षहरूलाई समेटिएको छ। इकाईले यस वर्ष सूचनाको सुरक्षा, गोपनीयता तथा ‘गो–एएमएल अपरेसन गाइडलाइन’ जस्ता महत्त्वपूर्ण मार्गदर्शनहरू जारी र अद्यावधिक गर्नुका साथै विभिन्न सूचक संस्था र कानुन कार्यान्वयन गर्ने निकायहरूका लागि क्षमता विकासका कार्यक्रमहरू समेत सञ्चालन गरेको छ।
विशेष गरी गो–एएमएल प्रणालीमार्फत वित्तीय सूचना सङ्कलनमा निकै ठूलो वृद्धि देखिएको छ, जहाँ आबद्ध सूचक संस्थाहरूको सङ्ख्या अघिल्लो वर्षको १ हजार ६३८ बाट बढेर ३ हजार ४८७ पुगेको छ। इकाईले यस अवधिमा ८ हजार ५६५ वटा शङ्कास्पद कारोबारका प्रतिवेदनहरू प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो।
प्राप्त प्रतिवेदनहरूको विश्लेषणमा पनि ४० प्रतिशतले वृद्धि भएको छ र विश्लेषणपश्चात् ८४५ वटा शङ्कास्पद कारोबारका फाइलहरू थप अनुसन्धान र अभियोजनका लागि नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायहरूमा पठाइएको छ।
नेपाल एसिया प्यासिफिक ग्रुपको पारस्परिक मूल्याङ्कनपछि ‘ग्रे–लिस्ट’ मा परेको सन्दर्भमा इकाईले अन्तर्राष्ट्रियस्तरमा ६४ वटा वैदेशिक वित्तीय जानकारी इकाईहरूसँग सूचना आदानप्रदान गरी सीमापार अपराध र साइबर ठगी विरुद्धको सहकार्यलाई थप मजबुत बनाएको छ।
आगामी दिनमा जोखिममा आधारित दृष्टिकोण र प्रविधिमा आधारित विश्लेषणलाई प्राथमिकता दिँदै वित्तीय सूचनाको गुणस्तर सुदृढ गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउने लक्ष्य प्रतिवेदनले राखेको छ।