चन्द माओवादीको बन्दसत्रमा बङ्गलादेश, भुटान, स्पेन, फ्रान्सका प्रतिनिधि सहभागि
पाहुनालाई खाना द्वन्द्वकालको जस्तै जनताका घर–घरमा
प्रकाशित २०७३ फागुन ५ बिहिबार
2.1k
Shares
रोल्पा । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको विहिबारबाट थवाङमा बन्द सत्र सुरु भएको छ । पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा महासचिव नेत्रविक्रम चन्दले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
देशभरबाट आएका आठ सय प्रतिनिधि र दुई सय पर्यवेक्षकले बन्दसत्रमा सहभागिता जनाएको तथा भारत, बङ्गलादेश, भुटान, स्पेन, फ्रान्सलगायत दर्जन बढी भाइचारा पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको बताइएको छ । शुक्रबार महासचिवको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी तथा पार्टीको नयाँ विधान समूहगत रुपमा छलफल हुने बताइएको छ । महाधिवेशनमा पार्टी स्थायी समिति, पोलिटब्युरो तथा केन्द्रीय सदस्य एवम् अञ्चल ब्युरो र हरेक जिल्लाबाट कम्तीमा एक र बढीमा १० जनासम्म प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।
महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक र अन्य पाहुनालाई जनताकै घरमा बस्ने व्यवस्था मिलाइएको स्थानीयवासी अमित घर्तीले बताए । शान्ति प्रक्रियापछि माओवादी नेतालाई आफ्नै गाउँघरमा देख्दा जनयुद्धकालीन समयको याद आएको उनले बताए । बन्दसत्र सुरु हुनुअघि पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले बन्दसत्रको रुपरेखाबारे पत्रकार सम्मेलनमा जानकारी दिए । यही फागुन १ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन भएको आठौँ महाधिवेशनको बन्दसत्र फागुन १० गतेसम्म चल्ने बताइएको छ ।