दुई दशकको बैतडी: हिजोको दुई दिने पैदल यात्रा, आजको अढाई घण्टाको सवारी
महेशदत्त भट्ट,
प्रकाशित २०८२ पुष २८ सोमबार
813
Shares
काठमाडौँ । चिया पसलदेखि संसदसम्म र सामाजिक सञ्जालदेखि गाउँका चौतारासम्म आज एउटै वाक्य सुनिन्छ– "देशमा विकास भएन, केही भएन।" यो वाक्य व्यक्तिको असन्तुष्टि मात्र नभई समाजको सामूहिक मनोविज्ञान बन्दै गएको छ। विकासलाई केवल ठूला सडक र विशाल भवनको भौतिक संरचनामा मात्र मापन गर्ने हाम्रो सीमित दृष्टिकोणले शिक्षा, स्वास्थ्य, सञ्चार र विद्युतीकरण जस्ता क्षेत्रमा भएका सूक्ष्म तर युगान्तकारी परिवर्तनलाई ओझेलमा पारेको छ।
दुई दशकअघिको बैतडीलाई सम्झने हो भने आजको अवस्था लोककथा जस्तो लाग्छ। २०५४ सालमा बैतडीको विशालपुरबाट देहिमाडौँ पुग्न पूरै दुई दिन पैदल हिँड्नुपथ्र्यो, जुन दूरी आज साढे दुई घण्टाको गाडीको यात्रामा छोटिएको छ। २०५८ सालको संकटकालमा असुरक्षित समाज, सदरमुकाममा मात्रै सीमित सरकारी सेवा, ५ प्रतिशत मानिसको पहुँचमा मात्र रहेको दूरसञ्चार र अन्धकार बस्तीहरू हिजोको यथार्थ थिए। बिरामी हुँदा भारतको पिथौरागढ पुग्नुपर्ने र गर्भवतीलाई अस्पताल लैजान स्ट्रेचर समेत नपाइने अवस्था अहिले इतिहास बनेको छ।
आज बैतडीका तल्लो स्वराड, पञ्चेश्वर र पुर्चौडी जस्ता विकट क्षेत्रहरू कालोपत्रे सडकले जोडिँदै छन्। विज्ञान विषय पढ्न धनगढी वा भारत धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। जिल्लामै सुदूरपश्चिम विश्वविद्यालयका आङ्गिक क्याम्पसहरू सञ्चालनमा छन् भने प्राविधिक शिक्षा गाउँ–गाउँमा पुगेको छ।
विद्युतीकरणको क्षेत्रमा जिल्लाले ठूलो फड्को मारेको छ। करिब ८० प्रतिशत घरधुरीमा बिजुली पुगिसकेको छ भने ५६ केबिपिएसको कछुवा गतिको इन्टरनेट अहिले एक सय एमबिपिएसको द्रुत गतिमा मानिसका हात–हातमा पुगेको छ। खुला ठाउँमा दिशा–पिसाब गर्ने हिजोको बानी हटेर सरसफाइ र स्वास्थ्य सचेतना बढेको छ, जसले बाल र मातृ मृत्युदरलाई उल्लेख्य रूपमा घटाएको छ।
बैतडी मात्र होइन, सिंगो देशको मुहार फेर्न सक्ने 'पञ्चेश्वर बहुउद्देशीय आयोजना' अझै पनि पूर्णताको पर्खाइमा छ। ६,४८० मेगावाट क्षमताको यो आयोजना र पाटनलाई 'नमुना सहर' बनाउने योजनाले पहाडबाट हुने बसाइँसराइ रोक्न र युवालाई रोजगारी दिन ठूलो भूमिका खेल्न सक्छ। झुलाघाटमा मोटरेबल पुल र सिगासको फलामखानी उत्खनन जस्ता योजनाहरू कार्यान्वयन भएमा यो क्षेत्र आर्थिक समृद्धिको केन्द्र बन्ने निश्चित छ।
विकास जति हुनुपर्ने थियो, त्यति नभएको पक्कै हो। सुशासनमा कमजोरी र सेवा प्रवाहमा ढिलासुस्ती अझै विद्यमान छन्। तर, "केही पनि भएन" भन्नु पूर्ण सत्य होइन। गिलास आधा रित्तो छ भनेर रुनुभन्दा आधा भरिएको छ भनेर बाँकी भर्नेतिर लाग्नु नै आजको आवश्यकता हो। नकारात्मक भाष्यले नागरिकलाई उदासिन बनाउँछ, त्यसैले भएका उपलब्धिहरूको स्वामित्व ग्रहण गर्दै थप सुधारका लागि दबाब सिर्जना गर्नु नै समृद्धिको बाटो हो।