काठमाडौँ । बैतडीमा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ। स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार यो खोप अभियान यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म जिल्लाभर सञ्चालन हुँदैछ।
जिल्लाका १० वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्षका किशोरी र गत वर्षको अभियानमा खोप लगाउन छुटेका किशोरीलाई यो सेवा दिइने उनले बताए। गत वर्ष विशेष अभियानका रूपमा सञ्चालन गरिएको यो खोपलाई यस वर्षदेखि सरकारले नियमित खोप तालिकामा समेत समावेश गरेको छ।
बैतडीमा यो वर्ष कक्षा ६ मा पढ्ने दुई हजार ३८६ जना, गत वर्ष छुटेका ६१ जना र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका ६ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ। गत वर्ष जिल्लाभर कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्षका गरी कुल १० हजार ३१० जना किशोरीलाई यो खोप लगाइएको थियो।
यस वर्षको अभियानका लागि सबै स्थानीय तहले आफ्नो क्षेत्रमा तयारी पूरा गरिसकेका छन् भने प्रत्येक विद्यालयलाई खोप केन्द्रको रूपमा तोकिएको छ। स्वास्थ्यकर्मीहरूले यो खोप पूर्ण रूपमा सुरक्षित रहेको भन्दै सबै अभिभावकलाई आफ्ना छोरीहरूलाई निर्धक्क भई खोप लगाउन आग्रह गरेका छन्।
जिल्ला अस्पतालका निमित्त प्रमुख डा. पविन उपाध्यायले पाठेघरको मुखको क्यान्सरबाट बच्न यो खोप निकै प्रभावकारी र सुरक्षित रहेको जानकारी दिएका छन्। नेपालमा बर्सेनि धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाउनुपर्ने दुखद अवस्था रहेकाले भविष्यमा यस्तो जोखिम कम गर्न यो खोप अनिवार्य मानिएको छ।
स्वास्थ्य कार्यालयले खोप अभियानलाई सफल बनाउन शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहयोगको अपेक्षा गरेको छ। किशोर अवस्थामा नै यो खोप लगाउँदा क्यान्सरको जोखिमलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने चिकित्सकहरूको सुझाव छ।