बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै, तीन महिनामा १८ जनामा पुष्टि
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
918
Shares
बैतडी। बैतडी जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ। पछिल्लो तीन महिनाको अवधिमा जिल्लाका १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले जानकारी दिएका छन्।
स्वास्थ्य कार्यालयमा प्राप्त तथ्याङ्कअनुसार, मेलौली नगरपालिकाका आठ जना, दशरथचन्द नगरपालिकाका छ जना, पुर्चौंडी नगरपालिकाका तीन जना र पाटन नगरपालिकाका एक जनामा डेङ्गी सङ्क्रमण देखिएको हो। जिल्लाका अन्य स्थानीय तहहरूमा भने हालसम्म डेङ्गीका बिरामी फेला परेका छैनन्। गत वर्ष जिल्लामा कुल १०६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो।
एडिस जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने भएकाले हाल लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जिल्लाभरि सञ्चालन भइरहेको छ। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले डेङ्गीबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा महत्त्वपूर्ण रहेकोमा जोड दिएका छन्।
डेङ्गी सङ्क्रमण हुँदा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिनुका साथै नाक, गिजा र पेटबाट रगत बग्ने जस्ता कडा खालका लक्षणसमेत देखापर्ने गर्दछन्। स्वास्थ्य कार्यालयले यस्ता लक्षण देखिएमा डेङ्गी जाँच गराउन आवश्यक रहेको र जाँच नगरिकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या निम्तिने भएकाले सबैले सचेत हुनुपर्नेमा जोड दिएको छ।