निर्वाचन सफल पार्न कांग्रेसले सशक्त भूमिका खेल्छ: गगन थापा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
2.1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई सफल पार्न कांग्रेसले सशक्त र नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले निर्वाचनमा पार्टीको पूर्ण सहभागिता रहने स्पष्ट पारेका हुन्।
सम्बोधनका क्रममा महामन्त्री थापाले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराउँदै यसलाई भव्य रूपमा सफल बनाउन कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गरे। उनले भने, “नेपाली कांग्रेस फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुनुपर्छ भन्ने मान्यता राख्छ र यसलाई सफल बनाउन आफ्नो जिम्मेवारी पूरा गर्छ। हामी सोहीअनुसार निर्वाचनमा सहभागी हुन्छौँ।”
यसका साथै थापाले वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको औँल्याउँदै प्रणालीगत त्रुटिहरू सच्याउनुपर्नेमा समेत जोड दिएका छन्। विशेष महाधिवेशनमार्फत पार्टीको आगामी चुनावी रणनीति र एजेन्डा तय भइरहँदा थापाको यो भनाइले कांग्रेस निर्वाचनको तयारीमा केन्द्रित भएको सङ्केत गरेको छ।