संविधान र लोकतन्त्र जोगाउन फागुन २१ को निर्वाचन अनिवार्य छ : मिनेन्द्र रिजाल
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २६ शनिबार
829
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले मुलुकमा विद्यमान संवैधानिक र राजनीतिक अन्योल अन्त्यका लागि आगामी फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि नयाँ जनादेश लिनुको विकल्प नरहेको जिकिर गरे।
संविधानलाई पूर्ण रूपमा क्रियाशील गराउन प्रतिनिधिसभा अनिवार्य रहेको तर्क गर्दै नेता रिजालले निर्वाचन नभए मुलुक थप संकटमा फस्ने चेतावनी दिए। "नयाँ अभिमत आवश्यक छ र त्यसका लागि फागुन २१ को चुनावमा जानैपर्छ," उनले भने, "निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाले मात्रै संविधानलाई पूर्ण रूपमा क्रियाशील बनाउन सक्छ। अहिले अन्य कुनै पनि किसिमको अलमल गरेमा संविधानले काम गर्न नसक्ने अवस्था आउन सक्छ।"
डा. रिजालले संविधान नयाँ बनाउने भन्ने विषयमा अलमलिनु आवश्यक नरहेको तर निर्वाचन प्रणालीलगायतका केही पक्षमा परिमार्जन गर्न भने आवश्यक रहेको बताए। उनले 'जेन–जी आन्दोलन' पछि मुलुकमा देखिएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न पनि निष्पक्ष निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।