काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा देशको बाह्य क्षेत्र निकै मजबुत देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मङ्सिर मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विदेशी मुद्राको सञ्चितिमा उल्लेख्य वृद्धि भई रु ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको छ।
गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको यस्तो सञ्चिति पाँच महिनाको अवधिमा १९.६ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा हिसाब गर्दा सञ्चिति २२ अर्ब १३ करोड डलर पुगेको छ। यो सञ्चितिले बैंकिङ क्षेत्रलाई २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
प्रतिवेदनका अनुसार शोधनान्तर स्थिति रु ४ खर्ब २१ अर्ब ८९ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु २ खर्ब २५ अर्ब ३४ करोड मात्र थियो। त्यसैगरी, चालु खाता पनि रु ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा देखिएको छ।
बैंकिङ प्रणालीमा विदेशी मुद्राको चाप कम हुनुका साथै प्रत्यक्ष वैदेशिक लगानी मा पनि सुधार आएको छ। मङ्सिर मसान्तसम्म रु ७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब रु १.४४ अर्बले बढी हो। कुल सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ।