arrow

माघदेखि गति बढाउने लक्ष्य

सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ सुस्त: दुई महिनामा नौ हजार मात्र प्रिन्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
Smart-Card-Driving-License-300x186.jpg.jpeg

काठमाडौँ। काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा सुरु गरिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यको सुरुआती दुई महिनामा करिब नौ हजार थान मात्र कार्ड छापिएका छन्। गत कात्तिक २१ गतेदेखि सुरु भएको यस कार्यअन्तर्गत हालसम्म आठ हजार ९८३ थान क्यूआर कोडसहितको लाइसेन्स छपाइ भएको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागको आफ्नै ‘मास प्रिन्टर’ जेन्जी आन्दोलनका क्रममा तोडफोड भएपछि उत्पन्न सङ्कट समाधान गर्न केन्द्रसँग छ महिनाभित्र १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता गरिएको थियो। हालसम्म छापिएकामध्ये करिब सात हजार लाइसेन्स वितरण भइसकेको र अहिले नयाँ ट्रायल पास तथा नवीकरणका लागि आवेदन दिएका करिब ३० लाख चालकहरू लाइसेन्सको प्रतीक्षामा रहेका छन्।

विभागका आइटी निर्देशक केशव खतिवडाका अनुसार हालसम्म अत्यन्तै आवश्यक देखिएका लाइसेन्स मात्र छपाइ गरिएको हो र अब विभागले एकैपटक एक लाख डेटा पठाएर साधारण लाइसेन्सको छपाइ कार्यलाई तीव्रता दिने तयारी गरेको छ। केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले सुरुआती चरण परीक्षणकाल भएकाले छपाइ सुस्त देखिए पनि आगामी माघ महिनादेखि नयाँ जनशक्ति थप गरी दैनिक १० हजारका दरले स्मार्ट लाइसेन्स छाप्ने लक्ष्य राखिएको जानकारी दिए। सम्झौताबमोजिम बाँकी रहेका झन्डै १२ लाख कार्डहरू आगामी दुई महिनाभित्रै छापिसक्ने आन्तरिक तयारी केन्द्रले गरेको छ।

नयाँ छपाइ भएका यी कार्डहरूमा परम्परागत चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ, जसमा ३४ प्रकारका दृश्य र अदृश्य सुरक्षा विशेषताहरू समावेश छन्। छ तहसम्मको सुरक्षा प्रविधि प्रयोग गरिएको यो कार्डलाई नेपालकै प्रयोगशालामा सफल परीक्षण गरेपछि मात्र वितरणका लागि विभागलाई हस्तान्तरण गरिएको हो। केन्द्रले लाइसेन्सबाहेक हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर र भिसा स्टिकर जस्ता महत्वपूर्ण सुरक्षण वस्तुहरू पनि स्वदेशमै छाप्ने तयारी गरिरहेको छ।

प्रेस पूर्ण क्षमतामा सञ्चालनमा आएपछि सुरक्षण मुद्रणका नाममा वार्षिक रूपमा बाहिरिने करिब १० अर्ब रुपैयाँ जोगिने अपेक्षा गरिएको छ। सरकारले विसं २०८० मा तयार पारेको १५ वर्षे गुरुयोजनाअनुसार पहिलो पाँच वर्षमा नेपाललाई आत्मनिर्भर बनाउने र त्यसपछिका चरणमा सार्क राष्ट्र र अन्य तेस्रो मुलुकलाई समेत मुद्रण सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। विगतमा प्रयोगविहीन रहेको सूचना-प्रविधि पार्क (आइटी पार्क) को भौतिक संरचनामा स्थापित यस केन्द्रले नेपालको मुद्रण क्षेत्रमा ठूलो आर्थिक र प्राविधिक फड्को मार्ने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ