माथि जानेबेला धनको होइन पुण्यको मात्रै हिसाब-किताब हुन्छ : डा सुनील शर्मा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
957
Shares
काठमाडौँ । कहिलेकाहिँ जीवनको दिशा कुनै नाता, स्वार्थ वा गणनाले नभएर केवल एउटा पीडाले अर्को मनलाई छोएको क्षणले बदलिन्छ । त्यहाँ न त रगतको सम्बन्ध हुन्छ, न त लाभ-हानीको । तराजु न राजनीति, न जातीय पहिचान । हुन्छ त केवल एउटा कमजोर सासको करुण पुकार । र त्यो पुकार सुन्न सक्ने एउटा संवेदनशील मन । यो एउटा यस्तै करुणामयी मानवीय भावनाले सिर्जना गरेको यथार्थ हो जहाँ मानवता सबै मूल्यभन्दा माथि छ।
मोरङ बेलबारी नगरपालिका-३ का १९ वर्षीय सुशन राई दुवै मिर्गौला फेल भई लामो समयदेखि जीवन मरणको दोसाँधमा तड्पिरहेका थिए । कमजोर आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित सुशनको स्वास्थका बारेमा जब नेपाली कांग्रेसका नेता सुनील शर्माले जानकारी पाए तब उनी दिनरात नभनि उनको जीवन बचाउने प्रयासमा लागि परे ।
डाक्टर शर्माकै पहलमा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा उनको निःशुल्क उपचार शुरू भयो । मिर्गौला प्रत्यारोपणको प्रक्रिया र उपचार त चलिरहेकै थियो तर यत्तिले मात्रै समस्या समाधान हुने अवस्था थिएन । किनकि उपचारको क्रममा सुशन र उनका कुरुवाका लागि बस्ने खाने अर्को ठूलो समस्या थियो । त्यो अवस्था देखेपछि डाक्टर शर्माले उनीहरूलाई उपचार पूरा नहुन्जेलसम्म आफ्नै घरमा बस्ने खाने व्यवस्थासमेत मिलाए । अझ भनौँ नौ महिनासम्म सुशनका बाबुछोरालाई नेता सुनीलले आफ्नै घरका सदस्य बनाए । तँ आँट म पुर्याउँछु, भनेझै भगवानले पनि सबैको पुकार सुने ।
लामो उपचारपछि अन्तत: काठमाडौँ मेडिकल कलेजका विज्ञ डाक्टरहरूको मेहनत र शर्माको नि:स्वार्थ प्रयास सफल भयो । सुशनले नयाँ जीवन मात्रै पाएनन्, उनको परिवारले बूढेसकालको सहारा पायो, एउटा युवाले आफ्ना सपना पूरा गर्ने अवसर पाए अनि समाजले भविष्यका एउटा कर्णधार युवा ।
सुशन पूर्ण रुपमा स्वस्थ भएर आफ्नो गाउँ फर्केको पनि केही समय बितिसकेको थियो । तर यतिले मात्रै डाक्टर शर्मा सन्तुष्ट थिएनन् । बेलाबेलामा उनको मनमा आफूले उपचार गराएका सुशन अहिले कस्तो भए होलान् भन्ने कौतुहलता जागिरहन्थ्यो । त्यही जिज्ञासाले उनलाई फेरि एक पटक सुशनकै जन्मघरसम्म डोहोर्यायो र आफ्ना अन्य सम्पूर्ण जिम्मेवारी पन्छाउँदै पुगे उनको जन्मथलो । त्यहाँ पुग्दाको माहोल बेग्लै थियो । केही समयअघिसम्मका रोगी सुशन अहिले पूर्णरुपमा हट्टाकट्टा भएर आफ्नो परिवारसँग रमाइरहेका थिए ।
छोराको पुनर्जीवन दिलाइ दिने भगवानको प्रतिरुप आफ्नै आँगनमा आइपुग्दा आमाबुबा नरमाउने कुरै भएन, परिवारै जम्मा भएर खुशीका आँसु साट्दै थिए । सुशनकी आमाले छोराको उपचार गरिदिने व्यक्तिलाई आफ्नै घरको आँगनमा देख्दा निकैबेर पत्याउनै सकिरहेकी थिइनन् । के भन्ने ? कसो गर्ने ? उनी अतालिएकी थिइन् ।
उता टोलछिमेक भेला भएर डाक्टर शर्माले गरेका मानवीय कार्यको लेखाजोखा गर्दै थिए । आफूले सहयोग गरेर उपचारपछि स्वस्थ्य भएका सुशनलाई देखेपछि सुनील पनि निकैबेर भावुक बने । आफ्नो पुकार सुनिदिएकोमा भगवानलाई मनमनै धन्यवाद दिए अनि उनकै परिवार तथा छरछिमेकीसँग आफ्ना मनोभावना बाँड्न अग्रसर भए ।
एउटा कलिलो जीवन बचाउन सफल भएकोमा उनी भित्रैदेखि हर्षित त थिए नै, त्योभन्दा पनि बढी पुण्य कमाउने अवसर दिएकोमा गाउँ अनि समाजप्रति आभारी र कर्तब्य निर्वाह गर्ने हिम्मत दिएकोमा भगवान्प्रति नतमस्तक । त्यसै पनि सुनील व्यक्तिगत रुपमा भगवान् बुद्धका अनुयायी हुन् भने राजनीतिक विचारका हिसाबले बीपी कोइरालाको पदचाप पच्छ्यायँदै हिँडेका समाजसेवी । त्यसैले उनमा मानवताप्रतिको धारणा सधैँ सकारात्मक र गहिरो छ ।
प्रत्येक मानवीय समवेदनाले उनलाई चसक्क छोइहाल्छ, नाघेर हिँड्नै सक्दैनन् । एउटा घाउ निको भएको खुशी साट्न गाउँ पुगेका सुनीलले त्यहीँ अर्को त्योभन्दा पनि चर्याइरहेको चित्कार सुने । त्यसपछि उनको यात्राको कथाले फरक मोड लियो ।
सुशनको सफल उपचारको कथा सकिन नपाउँदै शुरू भयो मोरङ, बेलबारी नगरपालिका-३ खोरियाका चन्द्रबहादुर सुब्बाको कथा । त्यो कुनै सामान्य कथा थिएन, एउटा अर्को विकराल कथा उनको आँखा अगाडि उभिएको थियो । मिर्गौला फेल भएका चन्द्रबहादुर विगत दुई वर्षदेखि डायलासिस गराइरहेका थिए । न त उनीसँग मिर्गौला प्रत्यारोपण गर्ने पुँजी थियो न त्यसका लागि आवश्यक पर्ने औषधिमुलो, न गाँसवासको जोहो । चन्द्रबहादुरको त्यो अवस्था देखेपछि सुनीलको मन फेरि पग्लियो ।
आखिर मान्छेको एउटा मन कति पटक पग्लिन्छ ? त्यो त बनाउने भगवानलाई नै थाहा होला, तर क्षणभरमै सुनीलले चन्द्रबहादुरको उपचारको सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा लिए । मिर्गौला प्रत्यारोपण त्यसै पनि निकै खर्चिलो हुन्छ, त्यो जिम्मेवारी सरकारले उठाउनुपर्ने हो । तर पनि निजी क्षेत्रबाट गर्न सक्ने जति प्रयास गरिरहेका सुनीलले काठमाडौँ मेडिकल कलेजमा चन्द्रबहादुरको निःशुल्क मर्गौला प्रत्यारोपण मात्र नभएर बस्ने खाने व्यवस्थासमेत मिलाइदिने बाचा गरे ।
अस्पतालको ढोकाबाट छिरेदेखि बाहिर ननिस्केसम्मको उपचार खर्च त निःशुल्क हुने घोषणा गरेकै थिए, तर त्यत्तिले मात्रै उनको मनले चित्त बुझाएन । व्यक्तिगत रुपमा दुई लाख रुपैयाँको औषधि पनि किनिदिन तयार भए ।
आखिर किन त ? केका लागि उनी यो सब गरिरहेका छन् ? यसमा उनको आफ्नै तर्क छ । भन्छन्, ‘यो सब मैले पैसा धेरै भएर गरेको होइन । मानव चोला हामीले चाहेर पनि सधैँ रहँदैन, एक दिन हामीले सबैथोक छोडेर जाने नै हो । त्यसैले तिमीले जीवनमा कति सम्पत्ति कमायौ, त्यसले कुनै अर्थ राख्दैन, माथि जानेबोला तिमीले कति पुण्य कमायौँ त्यसको मात्रै हिसाबकिताब हुन्छ ।’ त्यही भावना बोकेर आफू नि:स्वार्थ चन्द्रबहादुरजस्ता बिरामीको सहयोगमा जुटेको उनको स्पष्टीकरण छ ।
त्यसो त उनी समाज सेवीका अलावा नेपाली कांग्रेसका लेकप्रिय युवा नेता र मोरङ क्षेत्र नं ३ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस हुने पहिलो व्यक्ति पनि हुन् ।
तर उनले निस्वार्थ समाजसेवाको प्रमाण दिँदै भने, ‘यसबापत हामी तपाईंहरूसँग भोट माग्दैनौँ । मलाई आशिर्वादबाहेक केही चाहिँदैन ।’
जात, धर्म, र राजनीतिक जोडघटाउभन्दा माथि उठेर सेवा गर्न पाउनुलाई उनी पुण्य कमाउने अवसर र चुनौती दुवै मान्छन् । वरिपरि महिला, केटाकेटी र शुभचिन्तकले घेरिएका सुनीलले यस पटकलाई बिदा माग्दै गाउँलेसँग एउटा प्रश्न सोधे, ‘पछि आउँदा तपाईंहरूकोमा एक छाक भात त खान पाउँछु नि ?’
भगवानका दूत बनेर बेला-बेलामा आफ्नो गाउँ आइपुग्ने सुनीलको त्यो भनाइ भुइँमा खस्न नपाउँदै सबैले आफ्नो घरको भान्सामा स्वागत गरेको स्वीकारोक्तिसहित ताली बजाएर बिदा गरे । अर्थात् त्यो बिदाइ अर्को आगमनको उद्घोष थियो अनि अर्को नयाँ शुरूआतको प्रतीक्षा ।