कोरिया जान पर्खिरहेकाहरूका लागि राहत: रोस्टर मान्य अवधि थपिने, कोटा बढाउन पहल शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
769
Shares
काठमाडौँ । दक्षिण कोरिया जानका लागि रोजगार अनुमति प्रणाली परीक्षा उत्तीर्ण गरी 'रोस्टर' मा नाम भएर पनि लामो समयदेखि अवसर नपाएका युवाहरूको पक्षमा सरकारले महत्त्वपूर्ण निर्णयहरू गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालको प्रणालीमा देखिएका अवरोध हटाउन र युवाहरूलाई अवसर दिलाउन तीन बुँदे रणनीतिक योजना अघि सारेको हो।
मन्त्रालयले गरेको पहिलो निर्णयअनुसार, कोरिया जान योग्य उम्मेदवारहरूको रोस्टरमा रहने समय सीमा सकिन लागेकाले त्यसलाई थप गर्न दक्षिण कोरिया सरकारसँग कूटनीतिक माध्यमबाट औपचारिक अनुरोध गरिनेछ। यसले परीक्षा पास गरेर पनि समय अभावका कारण रोजगारीबाट वञ्चित हुने अवस्थामा रहेका युवाहरूलाई ठुलो राहत दिने अपेक्षा गरिएको छ।
यसैगरी, मन्त्रालयले नेपाली कामदारका लागि इपिएस कोटा वृद्धि गर्न आवश्यक कूटनीतिक पहल सुरु गर्ने र कोरियाली रोजगारदातासमक्ष व्यक्तिगत विवरण पठाउने प्रक्रियालाई थप पारदर्शी र निष्पक्ष बनाउने निर्णय गरेको छ। विवरण पठाउने प्रक्रियामा देखिएका अन्यौलता र ढिलासुस्ती हटाउन आवश्यक सुझावसहित सिफारिस गर्न एक उच्चस्तरीय कार्यदल समेत गठन गरिएको छ। श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले पुस १८ गतेको मन्त्रिस्तरीय निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान प्रक्रिया अघि बढिसकेको जानकारी दिए।