गोलभेँडा उपभोक्तासम्म पुग्दा एक सय २० रुपैयाँसम्म पर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
713
Shares
फाइल तस्बिर
रौतहट । विगतका वर्षहरूमा मध्यचिसोयाममा गोलभेँडा बिक्री नभएर चिन्तित हुने रौतहट र सर्लाहीका किसान यस वर्ष भने बजार भाउ देख्दा दंग परेका छन्।
शीतलहर चल्ने समयमा सामान्यतया प्रतिकेजी १० देखि १२ रुपैयाँमा पनि बिक्री गर्न मुस्किल पर्ने गोलभेँडाले यसपटक अनपेक्षित रूपमा उच्च मूल्य पाइरहेको छ।
अहिले रौतहट तथा सर्लाहीका किसानले बोटबाटै गोलभेँडा प्रतिकेजी सय रुपैयाँमा व्यापारीलाई बिक्री गरिरहेका छन्।
किसानबाट सय रुपैयाँमा खरिद गरिएको गोलभेँडा उपभोक्तासम्म पुग्दा खुद्रा बजारमा एक सय २० रुपैयाँसम्म पर्ने गरेको छ।
किन बढ्यो मूल्य?
गोलभेँडाको मूल्य बढ्नुको मुख्य कारण उत्पादनमा आएको भारी गिरावट हो। रौतहट जयनगरका किसान शिवदयाल यादवका अनुसार गत कात्तिकमा भएको बेमौसमी वर्षाले गोलभेँडाका बोटहरू नष्ट गरेको थियो। वर्षाका कारण धेरै किसानको बेर्ना सखाप भएपछि थोरै किसानले मात्र जोगाएर उत्पादन गर्न सकेका छन्।
बेर्ना नष्ट भएपछि पुनः खेती गर्न खोज्दा बजारमा बीउको अभाव हुनुले पनि उत्पादनमा कमी आएको किसानहरूको भनाइ छ। मागको तुलनामा आपूर्ति कम भएकाले नै यस वर्ष पुसको चिसोमा पनि गोलभेँडाको मूल्य अकासिएको हो।
लालबन्दी बजारका व्यापारी मोहम्मद उस्मानका अनुसार मध्यजाडोमा गोलभेँडाको यति धेरै मूल्य भएको यो पहिलो पटक हो।
हाल सर्लाहीको लालबन्दी र सासापुर संकलन केन्द्रबाट दैनिक एक हजार क्रेटभन्दा बढी गोलभेँडा काठमाडौंसहित देशका विभिन्न प्रमुख सहरहरूमा निर्यात भइरहेको छ। रौतहटसहित सर्लाहीको अधिकाश क्षेत्रलाई गोलभेँडा खेतीको व्यावसायिक पकेट क्षेत्र मानिन्छ।