वीरगञ्जमा हटाइयो कर्फ्यू, शान्ति-सुव्यवस्था कायम गर्न सबै पक्ष सहमत [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
700
Shares
पर्सा । वीरगञ्जमा बसेको सर्वपक्षीय/सर्वदलीय बैठकले अब प्रदर्शन नगर्ने निर्णय गरेको छ । जिल्लाका प्रशासन कार्यलय पर्सामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
विगत केही दिनदेखि भइरहेको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति-सुव्यवस्था कायम गर्न सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
बैठकले अन्य मुलुक वा स्थानमा भएका घटना तथा दुर्घटनालाई आधार बनाएर वीरगञ्जमा आन्दोलन तथा प्रदर्शन नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
पीडित पक्षले आन्दोलनका कार्यक्रम सञ्चालन गर्नुअघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र पेश गर्नुपर्ने निर्णय गरेको गरिएको प्रमुख जिल्ला आधिकारी दाहालले जानकारी दिए ।
ज्ञापनपत्र पेश गरेपछिमात्र आन्दोलनका कार्यक्रम अघि बढाउन जोड दिइएको छ । भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक सद्भावविरुद्धका गतिविधि नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्ला सद्भाव संयन्त्र गठन गरिएको उनले बताए ।
उनकाअनुसार संयन्त्रमा जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधि र विभिन्न धार्मिक समुदायका अगुवाहरू रहनेछन् । संयन्त्रमा हिन्दू समुदायबाट रञ्जित शाह र रञ्जन सिंह तथा मुस्लिम समुदायबाट महमद महबुव अली शेरु र अली अस्गर मदानी सदस्य रहने निर्णय भएको उनले जानकारी दिए ।
आवश्यकताअनुसार अन्य धार्मिक समुदायका प्रतिनिधि पनि समेटिने जनाइएको छ । साथै जिल्लास्थित प्रत्येक राजनीतिक दलबाट एक-एक जना प्रतिनिधि रहनेछन् । नेपाल पत्रकार महासंघका अध्यक्ष र नागरिक समाजका प्रतिनिधि पनि संयन्त्रमा सहभागी रहने व्यवस्था गरिएको छ ।
उनले भने, ‘अन्य मुलुक वा स्थानमा भएका घटना, दुर्घटनालाई लिएर वीरगञ्जमा आन्दोलन, प्रर्दशन नगर्ने प्रतिवद्धता व्यक्त गरियो । यसको सट्टा पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र पेश गर्न जोड दिने, तत्पश्चात मात्रै आन्दोलनका कार्यक्रम संचालन गर्ने, भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक सद्भाव विरुद्धका गतिविधिहरूलाई नियण्त्रण गर्न तथा आवश्यक कानूनी कारबाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियाशील राजनीतिक दलहरू एवं विभिन्न धार्मिक समुदायका अगुवाहरू रहने सदभाव सयन्त्र गठन गरियो । धार्मिक समुदायबाट हिन्दूतर्फबाट रञ्जित शाह र रञ्जन सिंह तथा मुस्लिमतर्फबाट महमद महबुव अलि शेरु र अलि अस्गर मदानी सदस्य रहनेछन् । यस्तै आवश्यक्ता अनुसार अन्य धार्मिक समुदायका सदस्य रहनेछन् । जिल्लास्थित राजनितिक दलहरूको तर्फबाट १/१ जना प्रतिनिधि रहने । नेपाल पत्रकार महासंघका अध्यक्ष र नागरिक समाजका प्रतिनिधि संयन्त्रमा रहने । समाचार प्रकाशन गर्दा सामाजिक सद्भावमा खलल नपुग्नेगरि प्रसारण तथा प्रकाशन गर्न अनुरोध गर्ने । धार्मिक, सांस्कृतिक, समाजिक सदुभाव विथोल्न प्रोत्साहण गर्ने समूह, आन्दोलनकारीलाई कानूनी दायरमा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने । साथै सबै पक्षले आआफ्नो समूहको तर्फबाट भएका कमजोरीको मनन गर्दै आफ्नो समुदायको व्यक्तिलाई अनुशासन, आत्मसंयम तथा सद्भाव कायम राख्न प्रतिवद्धता व्यक्त गर्ने । बैठकमा उपस्थित सबैले यो निर्णयलाई आफ्नो सामाजिक संजाल तथा वेवसाईटमा राखी बैठकको निर्णयको पक्षमा विज्ञप्ती जारी गर्ने, विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आफ्नो स्थानबाट सक्रिय र सकरात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रमहरू नगर्ने ।’
बैठकले सञ्चारमाध्यमलाई समाचार प्रकाशन तथा प्रसारण गर्दा सामाजिक सद्भावमा खलल नपुग्ने गरी संयम अपनाउन अनुरोध गरेको छ ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव विथोल्न प्रोत्साहन गर्ने समूह वा आन्दोलनकारीलाई कानूनि दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय पनि गरिएको प्रजिअ अधिकारीले बताए ।
वैठकमा सबै पक्षले आआफ्नो समुदायभित्र भएका कमजोरीको आत्मसमीक्षा गर्दै अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्न प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकमा उपस्थित सबैले निर्णयलाई आआफ्नो सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सार्वजनिक गर्दै निर्णयको पक्षमा विज्ञप्ति जारी गर्ने सहमति पनि भएको छ ।
कर्फ्यू आदेश हटाइयो
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी गरेको कर्फ्यू आदेश हटाएको छ । प्रशासनले मंगलबार विज्ञप्ति जारी गरी ३ः३० बजेदेखि नै लागू हुने गरी कर्फ्यू आदेश हटाइएको जानकारी दिएको हो ।
सर्वपक्षीय बैठकले जिल्लाको शान्ति सुव्यवस्था सुदृढ हुँदै गएकोले कर्फ्यू आदेश हटाइएको छ। प्रशासनले सोमबारदेखि कर्फ्यू आदेश जारी गरेको थियो ।