स्ववियुको चुनावमा सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीको कडा निर्देशन
प्रकाशित २०७३ फागुन ४ बुधबार
643
Shares
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सबै किसिमका सुरक्षाको व्यवस्था मिलाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । फागुन १४ गतेका लागि निर्धारण गरिएको स्ववियु चुनावमा अख्तियार गर्नुपर्ने सुरक्षाका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा गृहमन्त्री निधिले तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका हुन् ।
छलफलमा तीनवटै सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, त्रिविका उपकुलपति, रेक्टर, रजिष्ट्रार र उपत्यकाका क्याम्पस प्रमुखहरु उपस्थित थिए । गृहमन्त्री निधिले स्ववियु चुनाव गर्ने विषयमा राजनीतिक तहमा छलफल भएको उल्लेख गर्दै मधेशी मोर्चाका नेताहरुसँग समेत यस विषयमा पर्याप्त छलफल भएको जानकारी दिए ।
छलफलमा केही क्याम्पस प्रमुखले सुरक्षा चुनौती रहेको भन्दै केही दिन पर सारेर जानु पर्ने सुझाव राखे । यद्यपि, गृहमन्त्री निधिले तोकिएको चुनाव सार्नु राजनीतिक र शैक्षिक हिसावले उपयुक्त नहुने बताए । त्रिवि उपकुलपति डा.तीर्थ खनियाले तोकिएको मितिमै चुनाव गराउनु पर्ने बताए । प्रधानमन्त्रीको निवासमा बसेको तीन दलका शीर्ष नेतासहितको बैठकले चुनावको सुरक्षा प्रबन्ध मिलाउन भनेको थियो ।