arrow

रेनुले गरिन् नारायणीबाट बस्ती जोगाउने प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
renu-dahal-chitwan.jpg

चितवन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सोमबार नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा निरीक्षण गरेकी छन् ।

जनताको जीउधनको सुरक्षासँग जोडिएको नारायणी नदीअन्तर्गत भरतपुर महानगर क्षेत्रका करिब ३५ किलोमिटर तटीय क्षेत्रमा आवश्यकताअनुसार विभिन्न चरणमा तटबन्ध निर्माणको काम भइरहेको नगरप्रमुख दाहालले बताइन् ।

उनका अनुसार अत्यन्त जोखिमयुक्त २५ किलोमिटर क्षेत्रमा ठेक्का प्रक्रियामार्फत तटबन्ध निर्माणको काम सम्पन्न हुने चरणमा छ भने बाँकी १० किलोमिटर क्षेत्रमा जोखिमका आधारमा निर्माण प्रक्रिया अघि बढाइएको छ ।

“पच्चीस किलोमिटर क्षेत्रलाई पाँच-पाँच किलोमिटर खण्डमा विभाजन गरी काम भइरहेको छ। बाँकी १० किलोमिटर प्रक्रियामै छ । एकैपटक गर्न पाए अझ राम्रो हुन्थ्यो । तर उपलब्ध स्रोत र जोखिमका आधारमा प्राथमिकता दिँदै काम गर्दै आएका छौँ”, नगरप्रमुख दाहालले भनिन् ।

यस योजनाका लागि अर्बौँ रुपैयाँ बजेट आवश्यक पर्ने उल्लेख गर्दै उनले बाँकी क्षेत्रमा छिट्टै प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् ।

“अब ढिलाइ हुँदैन, यहाँका जनतालाई सुरक्षित बनाइन्छ”, नगरप्रमुख दाहालले भनिन् ।

नारायणी नदी व्यवस्थापन आयोजनासँग समन्वय गरी काम भइरहेको र यसलाई पूर्णता दिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

नगरप्रमुख दाहालले आफू निर्वाचित भए लगत्तै यो काम शुरू गरिएको उल्लेख गर्दै भरतपुरमा धेरै विकास भइसकेको र बाँकी रहेका केही स्थानको विकास प्राथमिकताका साथ अघि बढाइने बताइन् ।

पहिलो चरणमा मानव बस्ती जोखिममा रहेका क्षेत्रमा तटबन्ध निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा अन्य क्षेत्रमा योजना ल्याइने उनको भनाइ छ ।

अनुगमनका क्रममा नगरप्रमुख दाहालले नारायणी किनारका स्थानीयवासीसँग छलफल गरिन् । सो अवसरमा भरतपुर-१६ का डिल्लीराम दवाडीले बाँकी तटबन्ध निर्माण कार्य शीघ्र पूरा गर्न अनुरोध गरिन् ।

सोही वडाका अब्दुल कलामले तटबन्ध पूरा गरी बस्ती जोगाउनुपर्ने आवश्यकता औँल्याइन् । स्थानीय नन्दप्रसाद भट्टले बस्ती सुरक्षित भएकामा खुसी व्यक्त गर्दै बाँकी तटबन्ध छिटो सम्पन्न गर्न आग्रह गरिन् ।

अनुगमनका क्रममा सँगै रहेका नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख नारायण सुवेदीले सीमित स्रोतसाधनका बाबजुद पनि बढी जोखिमयुक्त स्थानमा प्राथमिकताका साथ काम भइरहेको बताए ।

अन्य नदीको तुलनामा नारायणीमा उल्लेखनीय काम भएको उल्लेख गर्दै उनले महानगरपालिकासँगको समन्वयमा काम छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगरप्रमुख दाहालले भरतपुर-१६ गणेशमन्दिर, २६ भगौडीलगायतका क्षेत्रको तटबन्धको कामको निरीक्षण तथा अनुगमन गरेकी थिइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ